काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७५ हजार २६७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड ७४ हजार ६३० पुगेको हो ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरमा देखा परेको कोरोना ६ महिनामै १ करोड बढीमा संक्रमण फैलिएको हो ।
विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ५४६ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६२५ पुगेको छ ।
संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ ।
कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । आइतबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या २६ लाख नजिक पुगेको छ भने ज्यान गुमाउने को संख्या १ लाख २८ हजार नाघेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ । २४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, कोरोनाबाट अति प्रभावित मुलुकको सूचीमा ब्राजिल, रसिया, भारत र वेलायत शीर्ष पाँचमा रहेका छन् ।