साइकल चढ्न प्रोत्साहन गर्दै काठमाडौं महानगर, साउनदेखि साइकल किन्नलाई अनुदान दिने

"ठूला पार्किङ निर्माण गर्दै महानगर"

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट आफ्ना जनप्रतिनिधि तथा कर्मचारीहरुलाई साइकल खरिदमा अनुदान दिने भएको छ ।

 

कोरोना भाइरसका कारण सार्वजनिक यातायात सञ्चालन चाँडै हुने सम्भावना नदेखेपछि साइकलको व्यवस्था गर्न लागेको हो । महानगरले यसका लागि कार्यविधि तयार पारिरहेको छ ।

 

महानगरले भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातका साधन साइकल प्रयोगलाई प्रोत्साहन गरेको महानगर अन्तर्गतका पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।

 

पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीलाई अनुदानमा साइकल वितरण गरिसकेपछि सर्वसाधरणलाई समेत साइकल खरिदमा समेत अनुदानको व्यवस्था गर्न सकिने विषयमा छलफल भइरहेको महानगरले बताएको छ ।

 

उनका अनुसार महानगरका सबै कर्मचारी र जनप्रतिनिधिलाई साइकल खरिदका लागि अनुदान दिन सम्भव नभएको भन्दै आवश्यकता हेरेर कुन स्तरका कर्मचारीलाई दिने त्यस अनुसार कार्यविधि बनिरहेको उनले बताए ।

 

‘महानगरका सबै कर्मचारीलाई साइकल दिन थाल्यौं भने १ हजार ९०० बढी कर्मचारी छन्, सबलाई दिएर सम्भव छैन, आवश्यक हेरेर पहिलो चरण, दोस्रो चरण गरेर अनुदान दिने छौँ,’ थापाले भने ।

 

उनका अनुसार कार्यविधि बन्दा कति मूल्यको साइकल खरिद गर्दा कति प्रतिशत अनुदान दिइने, कुन पदका कर्मचारीलाई साइकलमा अनुदान दिने भनेर नगरसभाबाट छलफल गरी पास गरिने छ ।

 

उनले साउन १ गतेबाट लागू हुने गरी असार मसान्त भित्र सो कार्यविधि पास भइसक्ने उनले बताए । पहिलो चरणमा वितरण पछि सर्वसाधरणलाई समेत साइकल खरिदमा केही अनुदानको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल गरिने बताए । साइकल चलाउनका लागि साइकल लेनहरुको निर्माणलाई समेत तीव्रता दिइने बताए ।

 

‘साइकल खरिदमा अनुदान महानगरका कर्मचारी र प्रतिनिधीलाई मात्रै हैन, सर्वसाधनमा पनि पुर्याउने योजनामा छौँ, बजेट पास भएपछि कतिसम्म सम्भव हुन्छ हामी कोशिस गरिरहेका छौँ,’ थापाले भने ।

 

थापाका अनुसार सार्वजनिक सवारी समेत चाँडै सुरक्षित मापदण्ड सहित सञ्चालन गर्ने तयारी भइरहेको छ । उनले सीट क्षमताभन्दा बढी मान्छे चढ्न र चढाउन नपाउने गरी मापदण्ड बनाउने विषयमा छलफल भइरहेको उनले बताए ।

 

यस्तै महानगरले आगामी आर्थिक वर्षबाट २ वटा भर्टिकल पार्किङ भवन निर्माण सुरु गर्ने भएको छ । २ वर्षभित्र पूरा हुने गरी सो योजनाका प्रक्रिया साउन १ गतेबाट सुरु गरिने थापाले बताए ।

 

धर्मपथ र टेकुमा रहेको महानगरको आफ्नै स्वामित्वको जग्गामा भर्टिकल पार्किङ भवन बनाउन लागिएको हो । एउटा भर्टिकल पार्किङ भवन बनाउन ८० करोड रुपैयाँ हाराहारीमा खर्च लाग्ने थापाले जानकारी दिए ।

 

महानगरले आफ्नै खर्चमा बनाउन लागेको भन्दै उनले सुरुको ५ देखि ६ महिना यसका लागि टेन्डरका कार्यमा समय लाग्ने बताए ।आगामी आर्थिक वर्षका लागि बजेट कम हुने भएपनि २ आर्थिक वर्षभित्र पूरा हुने गरी बजेट माग गरिएको उनले बताए ।

 

‘यो पटक टेन्डर आवहान गर्दा ५/६ महिना लाग्छ धेरै खर्च आवश्यक पर्दैन, २ वर्षभित्र सक्ने भएकाले अर्को आवका लागि अलि बढी बजेट आवश्यक पर्ने हुन्छ,’ थापाले भने ।

आज १० वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदै Read Previous

आज १० वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदै

गतवर्षको तुलनामा ८ प्रतिशतले बढ्यो धान रोपाई, कुन प्रदेशमा कति रोपे धान Read Next

गतवर्षको तुलनामा ८ प्रतिशतले बढ्यो धान रोपाई, कुन प्रदेशमा कति रोपे धान