काठमाडौं । स्टक डिलरको काम गर्न स्वीकृति माग्दै नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलरले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
जेठ २२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अनुमतिका लागि आवेदन दिएको नागरिकले स्टकले साउनदेखि स्टक डिलरको काम गर्ने लक्ष्यका साथ बिहीबार बोर्डमा अनुमतिका लागि आवेदन दिएको हो ।
यहीसाता बोर्डले स्टक डिलरको लागि आवेदन दिन नागरिक स्टक डिलरलाई पत्राचार गरेसँगै डिलरको लागि कम्पनीले बोर्डमा आवेदन दिएको हो।
नागरिकले कानुन बमोजिम आवश्यक सबै कागजपत्र सहित निवेदन दिएको बोर्डले जनाएको छ। अब आवश्यक कागजपत्रको अध्ययन गरी जतिसक्दो चाँडो नागरिकलाई काम गर्न अनुमति दिइने बोर्डको भनाइ छ ।
बोर्ड र नेप्सेमा निवेदन दिएसँगै स्टक डिलर सञ्चालनका लागि नागरिक स्टकले अनुमतिका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा भएको छ । अब बोर्ड र नेप्सेले आवश्यक पक्रिया पूरा गरी अनुमति दिनुपर्नेछ । दुवै निकायबाट अनुमति पाउनसाथ नागरिकले स्टक डिलरको काम सुरु गर्नेछ ।
सञ्चालन अनुमतिका लागि बोर्डमा निवेदन दिएसँगै नागरिक स्टकले शुक्रबारदेखि केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) र नेपाल स्टक एक्सचेञ्जमा प्राविधिक विषयमा प्रशिक्षण लिन सुरु गर्ने जनाएको छ । साथै कम्पनीले कर्मचारी व्यवस्थापनका लागि भर्ना प्रकृया समेत छिट्टै अगाडि तयारी गरेको छ ।