काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर करिब ५ प्रतिशत ऋणात्मक हुने प्रक्ष्येपण गरेको छ ।
वर्ल्ड इकोनोमिक आउटलुकको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै मुद्रा कोषले यसवर्ष विश्वको आर्थिक वृद्धि ४.९ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको हो ।
यसवर्ष विश्व अर्थतन्त्र ऋणात्मक हुने भए पनि कोषले आगामी वर्ष २०२१ मा भने विश्व अर्थतन्त्र ५.४ प्रतिशतले विस्तार हुने आशा गरेको छ ।
कोषले यसअघि अप्रिलमा विश्वको आर्थिक वृद्धि ३ प्रतिशत ऋणत्मक हुने प्रक्ष्येपण गरेको थियो । कोरोनाका कारण विश्वभर नै आर्थिक गतिविधि प्रभावित भएकाले वृद्धिदर ऋणात्मक हुने बताएको छ ।
यसवर्ष विश्वकै ठूला अर्थतन्त्र भएको अमेरिकाको आर्थिक वृद्धि ८ प्रतिशत ऋणत्मक हुने कोषको प्रक्षेपण छ । यस्तै विश्वका ठूला अर्थतन्त्र भएका जर्मनीको ७.८, फ्रान्सको १२.५, इटाली र स्पेनको १२.८, जापािनको ५.८ ऋणात्मक हुने प्रक्षेपण गरेको छ ।
कोरोनाका बाबजूद चीनले भने १ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने कोषको प्रक्षेपण छ । अन्य देशको तुलनामा चीनले छोटो समयमै कोरोनालाई नियन्त्रण गरी आर्थिक गतिविधि सञ्चालन गरेकाले अर्थतन्त्रको अन्यदेशको जस्तो नकरात्मक असर नपरेको कोषको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण रोके पनि तथा मानव जीवन बचाए पनि सन् १९३० को ‘द ग्रेट डिप्रेसन’ पछिको सबैभन्दा ठूलो र खराब आर्थिक मन्दी निम्त्याउने कोषको दाबी छ । यो महाव्याधी विश्वका उदीयमान र विकासशील अर्थतन्त्रमा गम्भीर रुपमा विस्तार भएको कोषको अनुमान छ ।
सन् २०१९ को अन्त्यदेखि २०२१ सम्म विश्व अर्थतन्त्रले १२.५ ट्रिलियन अमेरिकी डलर बराबरको सञ्चित (क्युमुलेटिभ) घाटा बेहोर्ने कोषको दाबी छ । २०१९ को अन्त्यमा विश्व अर्थतन्त्रको आकार १०० ट्रिलियन डलर भएकोमा २०२० मा आकार ९६ ट्रिलियन हुने अपेक्षा गरिएको छ ।
जबकि वर्ल्ड इकोनोमिक आउटलुकले आकार १०४ ट्रिलियन हुने आशा गरेको थियो । कोभिड प्रभाव कम हुँदै गएमा विश्व अर्थतन्त्रको आकार २०२१ मा १०० ट्रिलियनमै फर्कने आशा गरिएको छ ।
कोषले सन् २०२० मा विश्वका ९५ प्रतिशत देशले ऋणात्मक प्रतिव्यक्ति आय वृद्धिदर आत्मसात् गर्ने चेतावनी दिएको छ । यद्यपि चीनबाहेक उदीयमान र विकासशील अर्थतन्त्रको पुनरुत्थान दर समृद्ध अर्थतन्त्रको भन्दा राम्रो हुने मुद्रा कोषको प्रक्षेपण छ ।
