काठमाडौं। बुधबारपनि विभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई ११ उडान मार्फत स्वदेश ल्याइने भएको छ ।
विभिन्न पाँच देशबाट करिब १ हजार १५० भन्दा बढी नेपालीको उद्धार गर्न लागिएको हो । त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज विदेशका विभिन्न ७ स्थानमा रहेका नेपाली ल्याउन लागिएको हो ।
हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने विमानस्थलले जनाएको छ।
हिमालय एयरलाइन्सको जहाज बुधबार राति १५५ नेपाली लिन यूएईको आबुधाबी उड्नेछ भने २६० जना लिन नेपाल एयरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ।
यस्तै, हिमालय एयरलाइन्सले नै कुवेतबाट १५४ र साउदीको दमामबाट १५८ जना ल्याउने छ । अमेरिकाबाट टर्किस एयरलाइन्सले २८२ जना नेपालीहरु लिएर आउँदैछ ।
नेपाल एयरलाइन्स आज नै कुवेतका लागि उड्ने छ। नेपाल एयरलाइन्सको जहाज जापानको नारिता तथा हिमालय एयरलाइन्सको जहाज कतारको दोहाका लागि उड्नेछन्।