काठमाडौं । अब सेयर कारोबारका लागि विद्युतीय माध्यमबाट जति पनि भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बेंकले बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले निर्देशिका संशोधन गर्दै धितोपत्र कारोबार गर्दा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत गरिने कारोबारको दैनिक सीमा हटाएको छ।
यसअघिसम्म मोबाइल बैंकिङ मार्फत प्रतिदिन १लाख रुपैयाँ र प्रतिमहिना १० लााख रुपैयाँ कारोबार गर्न मिल्नेगरी सीमा तोकेको थियो । यस्तै, इन्टरनेट बैंकिङ मार्फत प्रतिदिन १० लाख र प्रतिमहीना ३० लाख सम्म कारोबार गर्न मिल्ने व्यवस्था थियो।
राष्ट्र बैंकले कोरोनाले उत्पन्न असहज परिस्थितिमा आवगमनमा भएको कठिनाइलाई मध्येनजर गर्दै अर्को व्यवस्था नभएसम्मको लागि यस्तो व्यवस्था गरेको हो ।
लगानीकर्ताहरुले धितोपत्र कारोबारमा विद्युतीय माध्यमबाट गरिने कारोबारका सीमा बढाउन माग गर्दै आएका थिए ।
राष्ट्र बैंकका अनुसार कुनै पनि व्यक्तिको व्यक्तिगत खाताबाट अर्को व्यक्तिको खातामा रकमान्तर गर्दा, कर,राजस्व, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्क विविध शुल्कहरु भुक्तानी गर्न, विद्युत सेवा, दुरसञ्चार सेवा, खानेपानी सेवा,विमा प्रिमियम सामाजिक सुरक्षा भत्ताको रकम भुक्तानी गर्न लगायत काममा भने पहिलाकै सीमा कायम रहने छ ।