काठमाडौं । कोरोना महामारीले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्र मध्ये रेष्टुरेन्ट व्यवसाय पनि एक हो । महामारी विस्तारै कम हुँदै गए पनि बौरिन धेरै समय लाग्ने पनि यही व्यवसाय हो । भाइरसको भ्याक्सिन वा औषधि पत्ता नलागी पहिल्यैको अवस्थामा झैं मानिसहरु बाहिर खाना खान जाने संभावना छैन ।
लकडाउन केही खुकुलो भएसँगै र ‘टेक अवे’ गर्नका लागि रेष्टुरेन्टहरु खोल्न पाइने व्यवस्था सरकारले गरेसँगै केही रेष्टुरेन्टले बसेर खान नमिल्ने तर खाना प्याक गरेर लिएर भने जान पाइने सेवा शुरु गरेका छन् ।
मध्ये बानेश्वरको चर्चित चेन रेष्टुरेन्ट चिकेन स्टेशनले केही दिनयता ‘टेक अवे’ सेवा शुरु गरेको छ । महामारी अगाडि सहरका युवायुवतीको भिड लाग्ने यो रेष्टुरेन्टमा हाल फाट्टफुट्ट मात्र मानिसहरु ‘टेक अवे’ लिन आउने गरेका छन् । व्यवसाय केही बढ्छ कि भनेर रेष्टुरेन्टले ‘फ्रि होम डेलिभरी’को सेवा पनि सुरु गरेको छ ।
सरकारबाट उनलाई कुनै आशा छैन । सरकारसँग आशा गर्यो भने झन् निराशा मात्र हात लाग्ने उनको बुझाइ छ । सरकारसँग आशा नराख्ने अनि आफूसँग पनि व्यवसाय बढाउन पैसा छैन, अब के गर्ने त ? निकै बेरसम्म उनी बोलेनन् । सायद उनीसँग कुनै जवाफ थिएन । निकै बेरपछि सानो स्वरमा भने बैंकले वा सहरकारीले केही ऋण थपिदिन्छन् कि !
बानेश्वर चिकेन स्टेसनका सञ्चालक अजित भट्टराई हाल रेष्टुरेन्टलाई टिकाई राख्ने प्रयास मात्र गरिरहेको बताउँछन् । लकडाउनको ३ महिनाको समयमा यो आउटलेटले मात्र मासिक ७ लाखका दरले घाटा व्यहोर्नुपरेको उनले बताए । सहरमा करिब १८ वटा रेष्टुरेन्टहरु रहेको यो ब्राण्डको बानेश्वर शाखाका सञ्चालक हुन् अजित । अन्य आउटलेटहरुका सञ्चालक अरु नै छन् ।
मासिक २ लाख रुपैयाँ भन्दा बढी भाडा तिर्दै आएका उनले ३ महिनादेखि भाडा तिरेका छैनन । ‘अहिलेसम्म त तिरेको छैन । अब नतिरी सुख छैन । ऋण थपेर भाडा तिर्ने योजनामा रहेको छु,’ उनी भन्छन् ।
हाल यो रेष्टुरेन्टमा सामान्य समयको तुलनामा २० प्रतिशत मात्र व्यापार छ । अर्थात, दैनिक व्यापार ८० प्रतिशतले घटेको छ । ‘यो व्यापारले भाडा तिर्न पनि पुग्दैन । कर्मचारीको तबल र बैंक ऋणको व्याजको त कुरै छाडौं,’ उनले सुस्केरा हाल्दै सुनाए ।
अब व्यापार पुरानै अवस्थामा फर्कनको लागि यात भाइरसको औषधि पत्ता लाग्नु पर्यो वा मानिसहरुको मनबाट भाइरसको डर भाग्नु पर्यो । यो हुनलाई कम्तीमा १ वर्ष लाग्ने उनको अनुमान छ ।
कुराकानीको क्रममा उनले काउन्टरको घर्राबाट एक थाक सहकारीका पासबुक देखाए । यी पासबुकमा कुनैमा थोरै बचत छ भने धेरैमा ऋण छ । यति भनेर उनी फिस्स हाँसे ।
सरकारबाट उनलाई कुनै आशा छैन । सरकारसँग आशा गर्यो भने झन् निराशा मात्र हात लाग्ने उनको बुझाइ छ । सरकारसँग आशा नराख्ने अनि आफूसँग पनि व्यवसाय बढाउन पैसा छैन, अब के गर्ने त ? निकै बेरसम्म उनी बोलेनन् । सायद उनीसँग कुनै जवाफ थिएन । निकै बेरपछि सानो स्वरमा भने बैंकले वा सहरकारीले केही ऋण थपिदिन्छन् कि !
भाडा अहिले नतिरे पनि ऋणमा ब्याज भने थपिँदै गएको उनले बताए । सहकारीको दैनिक किस्तामा ब्याज बुझाई रहेका उनले अहिले किस्ता तिरेका छैनन् । ऋण र ब्याज थपिँदो छ ।
सामान्यतः २५/२६ जना कर्मचारी खटाएर सञ्चालन गर्ने गरिएको चिकेन स्टेशनमा हाल ६ जना कर्मचारी रहेका छन् । केही घर गएका छन् भने कोही घर जाने तयारीमा छन् । उनले लामोसमयसम्म सबै कर्मचारीलाई खुवाएर राखे पनि । तर, लकडाउन झन्झन् लम्बिँदै गएपछि उनले थेग्न सकेनन् र कर्मचारीलाई सुरक्षित घर पठाउने उपाय गरे ।
हाल चिकेन स्टेसनको यो आउटलेट खुल्ने र बन्द हुने समय पनि बदलिएको छ । सधैं बिहान ९ बजे नै खुल्ने यो रेष्टुरेन्ट हाल दिउँसो ११/१२ बजे खुल्न थालेको छ । राती अबेर १० बजेसम्म खुल्ला हुन्थ्यो भने अहिले ८ बजे नै बन्द हुन थालेको छ ।
‘सरकारको कर तिर्नै पर्यो, पानी–बत्ति सबैको पैसा तिर्नु छ । अब रेष्टुरेन्ट खुल्यो भनेर भाडा माग्न पनि थालेका छन्’, यति भनेर उनी चुप लागे । सायद भन्ने कुरा अब केही बाँकी थिएनन् ।