भारतीय डलर अर्बपति तथा विश्वकै १० औं धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज भारतीय सेयर बजारकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।
पछिल्लो समय सेयर मूल्य दोब्बरले बढेपछि रिलायन्स भारतकै सबैभन्दा ठूलो मूल्यवान कम्पनी बनेको हो । ५९ कारोबार दिनमा कम्पनीको सेयर मूल्य शतप्रतिशतभन्दा बढीले वृद्धि भएपछि अहिले यसको बजार मूल्य १५० अर्ब डलर (११ लाख करोड भारु) पुगेको छ ।
रिलायन्सको मूल्य टोटल एसए, रोयल डचसेल बीपी कम्पनीको भन्दा बढी छ । यद्यपी अमेरिकी कम्पनी एक्सोन मोविल, सेभरन र मूल्यवान इनर्जी कम्पनी साउदी आरमको भन्दा कम छ । भारतमा इक्विटी बजारमा सुधार आएपछि रिलायन्सको मूल्य बढेको हो ।

कोरोना महामारीका कारण विश्वका अधिकांश कम्पनीहरुको सेयर मूल्यमा गिरावट आइरहेको भए पनि रिलायन्सको सेयर मूल्य तीव्र गतिमा बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
शुक्रबार रिलायन्सको सेयर मूल्य प्रतिकित्ता १ हजार ७३८.९५ भारु पुगेको छ । जबकी भारतमा कोरोना नियन्त्रणका लागि लकडाउन लगाएपछि मार्च २३ मा रिलायन्सको सेयर मूल्य घटेर ८६७.४२ भारुमा आइपुगेको थियो ।
रिलायन्सले सन २०२१ को मार्च सम्ममा ऋणमुक्त हुने योजना सार्वजनिक गरेपछि पछिल्ला दिनमा यसको सेयर मूल्य ह्वात्तै ह्वात्तै बढेको छ । अहिले रिलायन्सको कुल ऋण १ लाख ६१ हजार करोड भारु छ ।
रिलायन्सले पछिल्लो २ महिनामा मात्र ५ वटा विदेशी कम्पनीलाई सेयर बेचिसकेको छ । यस अवधिमा विदेशी लगानीकर्ता र हकप्रद सेयर निष्कासनबाट कम्पनीले १ लाख ६९ हजार करोड भारु संकलन गरेको छ ।

रिलायन्सले विश्व बजारमा जीओ प्लेटफर्म लिमिटेडको सेयर बेचेर १ लाख १५ हजार करोड भारु संकलन गरेको छ । ५३ हजार १२४ करोड रुपैयाँ हकप्रद सेयर निष्कासन गरेर संकलन गर्ने लक्ष्य छ ।
रिलायन्सको मोबाइल कम्पनी जीओ टेलिकमले अमेरिकी कम्पनी फेसबुक, सिल्भर लेक, भिस्टा इक्टिी पार्टनरले जीओ, केकेआरलाई स्वामित्व बेचेको थियो ।
भिस्टाले २.३२ प्रतिशत सेयर ११ हजार ३६७ करोड, अमेरिकाको प्राइभेट इक्टि फर्म सिल्भर लेकले १.१५ प्रतिशत ५ हजार ६५५ करोड भारु, फेसबुकले ९.९९ प्रतिशत ५ अर्ब ७० करोड अमेरिकी डलर, केकेआरले २.३२ प्रतिशत ११ हजार ३६७ करोड बराबरको स्वामित्व खरिद गरेका थिए ।
सेयरको मूल्य बढेपछि रिलायन्सको सम्पत्तिमा बढोत्तरी आएको हो । रिलायन्स मूल्यवान कम्पनी भएपछि यसका कार्यकारी अध्यक्ष मुकेश अम्बानी विश्वका १० औं धनी व्यक्तिको सूचीमा परेका छन । उनको सम्पत्ति बढेर ६४.५० अर्ब डलर पुगेको छ ।