काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चामा ल्याइदिएको घरेलु मसला बेसार समेत ठूलो परिमाणमा विदेशबाट आयात हुँदै आएको छ ।
राष्ट्रिय सभामा सांसदहरुले विनियोजन विधेयकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सुत्केरी र गर्भवतीलाई बेसार नखान सुझाव दिएका थिए । यस्तै उनले नेपालीले हरेक दिन भान्सामा बेसार प्रयोग गर्ने हुँदा नेपालीको प्रतिरोधि क्षमता समेत धेरै बएको बताएका थिए ।
यससँगै अहिले सामाजिक सञ्चालमा बेसारको व्यापक चर्चा भइरहेको छ । नेपालको जलवायु बेसार खेतीका उपयुक्त भएता पनि केही वर्षयता बेसारको आयात भने बढ्दो क्रममा रहेको छ ।
नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालू आर्थिक वर्षको १० महिनामा करिब २८ करोडको बेसार आयत भएको छ ।
भन्सार विभागले तथ्यांक अनुसार नेपालले चालू आर्थिक वर्षको १० महिनामा भारत र म्यानमारबाट २७ करोड ९४ लाख रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ ।
नेपालीले खाने बेसार अधिकाशं नेपालमै उत्पादन हुने भए पनि भारत र म्यानमारबाट पनि बेसार आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।
तथ्यांक अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, ३ करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको २ लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको छ ।
मुख्यतः मसला बालीका रूपमा प्रयोग हुने बेसार खाद्य रङका रूपमा उपयोग गरिन्छ । विभिन्न सौन्दर्य सामग्री तथा औषधि बनाउन पनि यसको प्रयोग उच्च छ ।