काठमाडौं । लगानी बोर्डले १ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बालुवाटारमा बसेको बैठकले पाँच जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योगका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको हो ।
बोर्डले ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी २ जलविद्युत आयोजनाका लागि ७८ अर्ब ६५ करोड रुपैयाँ, ४२.९ मेगावाट क्षमताको आँखुखोला जलविद्युतका लागि ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युतका लागि १० अर्ब ३१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
त्यसैगरी, इसुवा खोलामा बन्ने ९७.२ मेगावाट क्षमताको जलविद्युत आयोजनाका लागि १३ अर्ब ५७ करोड र १६४ मेगवाटको कालीगण्डकी गर्ज जलविद्युतका लागि २८ अर्ब ६ करोडको लगानी पनि स्वीकृत भएको छ ।
साथै दाङ सिमेण्ट इण्डष्ट्रिज र सम्राट सिमेण्ट इण्डष्ट्रिजका लागि क्रमशः ३२ अर्ब ५० करोड र १५ अर्ब ५ करोड गरी सिमेण्ट उद्योगमा कुल ४८ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा सञ्चालन हुन २० मेगावाटको स्टोरेज क्षमता सहितको १२५ मेगावाटका दुई सौर्य ऊर्जा परियोजनाको सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालन गर्न अध्ययन गर्ने निर्णय गरेको छ ।
ती आयोजनाको अध्ययनको जिम्मा राइजन इनर्जी सिंगापुरले पाएको छ ।
यसका साथै, कोरोनाभाइरस महामारीका कारण दमकको चिन नेपाल मैत्री औद्योगिक पार्क, मुक्तिनाथ केबल कार, मल्टिमोडल लजिस्टिक पार्क र प्राइभेट टर्मिनल एण्ड बल्क ह्याण्डलिङ फेसिलिटीको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधी थप गरिएको छ ।