काठमाडौं । पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । यसअघि महिँगिदा साढे ३ सयसम्म पुगेको कुखराको मासूको भाउ अहिले त्योभन्दा पनि माथि पुगेको छ ।
लकडाउनको बेलामा गिरावट आएको कुखुराको मासुको मूल्य लकडाउन खुकुलो भएसँगै ह्वात्तै बढेको छ । अहिले काठमाडौं उपत्यकामा कुखुराको मासु प्रतिकेजी ३६० देखि ४०० रुपैयाँसम्म विक्री भइरहेको छ ।
ह्याचरीहरुले लकडाउनका समयमा कुखुराको चल्ला विक्री नभएको र राख्ने ठाउँ नभएको भन्दै करिब ७० लाख चल्ला मारेका थिए । अहिले जिउँदो कुखुरा नहुँदा र बजारमा मासुको माग बढ्दै गएपछि भाउ आकाशिएको हो ।
लकडाउन अघि कुखुराको मासुको मूल्य बढाउन कै निम्ति ह्याचरीहरुले ६० लाख चल्ला मारेका थिए । त्यसपछि कुखुराको मूल्य २५० रुपैयाँ केजीबाट बढेर ३२० रुपैयाँ पुगेको थियो । लकडाउनका समयमा कुखुराको मासु विक्री हुनै नसकेपछि कुखुराको मासु झन सस्तिएको थियो ।
किन महँगियो मासुको मूल्य ?
ह्याचरीहरुले लकडाउनका समयमा कुखुराको चल्ला विक्री नभएको र राख्ने ठाउँ नभएको भन्दै चल्ला मारेका छन् । ह्याचरी उद्योगहरुले लकडाउनको ७० दिनसम्म हप्तामा ४२ लाख दरले चल्ला मारेर गाडेको ह्याचरी संघका अध्यक्ष टिकाराम सापकोटाले बताए । ३२४ ह्याचरीहरुले चल्ला मारेर गाडेका थिए ।
व्यवसायीहरु हाल बजारमा कुखुराको मासुको माग बढी भएर मूल्य वृद्धि भएको बताउँदै आएका छन् ।
नेपालमा सामान्य अवस्थामा कुखुराको मासुको माग दैनिक ९ लाख देखि १० लाख केजी रहेको थियो । हाल कोरोनाका कारण दैनिक कुखुराको मासुको माग ६ देखि ७ लाख केजी रहेको उनले बताए । यो माग कुखुरा उत्पादन कम हुनु र कुखुरा उत्पादन गर्ने व्यवसायीले चल्ला किन्न नपाएका कारण पूरा गर्न हम्मे परिरहेको उनले बताए ।
‘चल्ला उत्पादन भइराखे, त्यो विक्री गर्नु पर्ने किन्ने मान्छे आउन सकेनन्, न त ढुवानी गरेर पुराउन सकियो, अनि सबै चल्ला गाड्नु पर्यो, अहिले बजारमा कुखुराको मासुको माग बढ्दो छ, उत्पादन छैन, त्यही भएर मासुको मूल्य महँगो भएको हो,’ सापकोटाले चाणक्य पोष्टसँग भने ।
बीचमा बिचौलियामार्फत त्यही कुखुरा कोल्ड स्टोरमा पुग्छ र कोल्ड स्टोर हुँदै पसल पसलमा पुग्छ । यसरी कुखुराको मूल्यमा समेत बिचौलियाको हावी भएको देखिन्छ ।
तराईमा भन्दा काठमाडौंमा उत्पादन लागत बढी
कुखुरा उत्पादन लागत तराईमाभन्दा उपत्यकामा बढी पर्ने गरेको देखिएको छ । तराईमा प्रतिकेजी कुखुरा उत्पादन लागत १८० रुपैयाँ रहेको छ भने काठमाडौंमा प्रतिकेजी २०० रुपैयाँसम्म पर्ने गरेको छ ।
सामान्यतः एउटा चल्लाको मूल्य ७० रुपैयाँ पर्छ । बिचौलीयाका कारण त्यो १०० रुपैयाँसम्म पर्न जाने देखिन्छ । यस्तै, १ केजीको कुखुरा तयार बनाउन ४० रुपैयाँको दाना, २० रुपैयाँ ढुवानी खर्च लगायत अन्य पनि जोडिन्छ । यसरी १ केजीको कुखुरा उत्पादनमा १८० देखि २०० लागत लाग्दछ भने किसानले त्यसमा सामान्य नाफा राखेर प्रतिकेजी २५० रुपैयाँ विक्री गर्ने गर्छन् ।
यसरी हेर्दा कुखुराको मासुमा कुखुराको मूल्य दोब्बर बढ्न गएको देखिन्छ । जस कारण बजारमा कुखुराको मासु उपभोक्ता पीडित बन्न पुगेका छन् ।
पशु सेवा विभागका महानिर्देशक वंश शर्मा कुखुराको मासुको मूल्य बढ्नु सामान्य रहेको बताउँछन् । उनले ह्याचरी व्यवसायीको समर्थन गर्दै व्यवसायी आफै घाटा र ऋणमा भएका कारण मूल्य वृद्धि भएको बताए ।
‘ह्याचरी व्यवसायी आफै घाटामा छन्, ऋणमा डुबी रहेका छन्, कुखुरामा थोरै मूल्य बढ्दैमा केही हुन्न, यो सामान्य हो,’ महानिर्देशक शर्माले चाणक्य पोष्टसँग भने ।
अहिलेको कोरोनाले प्रभावित बनाएको पोल्ट्री व्यवसाय सामान्य अवस्थामा आउन डेढरदुई वर्ष लाग्ने उनले बताए । धेरै किसानहरु पोल्ट्री फमबाट पलायन हुन सक्ने सम्भावना समेत रहेको छ ।
यसरी हेर्दा ह्याचरी व्यवसायीहरुले बारम्बार कुखुराको मूल्य बढाउन चल्ला मार्ने र आफ्नो नोक्सानी देखाउने गरेका छन् । चल्ला मारिनुका कारण हाल चल्लाको मूल्य २० रुपैयाँ गोटाबाट बढेर ७० रुपैयाँ पुगेको छ ।
विभिन्न पोल्ट्री फामहरुमा जिउँदो कुखुराको मूल्य २५० देखि २७५ रुपैयाँसम्म रहेको छ ।
बजारमा अहिले जिउँदो कुखुरा नै छैन
नेपाल ह्याचरी फार्मका सञ्चालक गर्दै आएका रामहरी ढकाल अहिले बजारमा जिउँदो कुखुरा नै नभएको बताउँछन् । उनले जिउँदो कुखुरा अभाव भएका कारण फ्रेस मासुको मूल्य बढ्न गएको बताए ।

‘अहिले बजारमा जिउँदो कुखुरा छैन, सबैले फ्रिजमा स्टक गरेर राखिएको फ्रोजन कुखुराको मासु विक्री गरिरहेको छन्,’ ढकालले चाणक्य पोष्टसँग भने ।
फ्रोजन मासुको मूल्य हाल बजारमा करिब ३०० रुपैयाँ केजी रहेको छ । फ्रेस मासुको मूल्य ३६० रुपैयाँ देखि ४०० सय रुपैयाँसम्म पर्ने गरेको छ । बजारमा यही फ्रेस मासु नभएको मौका मिलाएर मासु व्यवसायीहरु भने महँगोमा बेचेको हुन सक्ने उनले बताए ।
उनका अनुसार लकडाउन सुरु भएपछि मासु पसल बन्द भएको र चल्ला तथा कुखुराहरु ढुवानी नहुँदा किन्ने समेत नभए पछि धेरै कुखुरा मार्नु पर्ने बाध्यता भएको थियो । लक डाउनका बेला कुखुराको मूल्य २१० रुपैयाँसम्म झरेको थियो ।
अहिलेको कोरोनाले प्रभावित बनाएको पोल्ट्री व्यवसाय सामान्य अवस्थामा आउन डेढ/दुई वर्ष लाग्ने उनले बताए । धेरै किसानहरु पोल्ट्री फमबाट पलायन हुन सक्ने सम्भावना समेत रहेको उनको भनाइ छ ।
विभिन्न जातका चललाहरु आयात गरीने भएका कारण समेत ती चल्ला नआउँदा पनि पोल्ट्री व्यावसायमा असर परेको उनी बताउँछन् ।
यस्तो छ अन्तर्राष्ट्रिय बजारमा कुखुराको भाउ
ढकालले पछिल्लो समय भारतमा पनि कुखुराको मासुमा मूल्य वृद्धि भएको बताए । लकडाउन अघि प्रतिकेजी १०० भारुमा विक्री हुने कुखुराको मासु अहिले प्रतिकेजी २०० रुपैयाँ भारुसम्म पुगेको उनले बताए ।
इन्डिया मार्ट डटकमका अनुसार हाल भारतीय बजारमा फ्रोजन राखिएको कुखुराको मासुको मूल्य प्रतिकेजी १८० भारु रहेको छ भने फ्रेस मासुको मूल्य प्रतिकेजी २०० रुपैयाँ भारु रहेको छ । नेपाली दर अनुसार भारतमा अहिले कुखुराको मासुको मूल्य प्रतिकेजी ३२० रुपैयाँ पर्न आउछ ।
यस्तै, ब्राजिलमा हाल कुखुराको मासु प्रतिकेजी १.३३ डलरदेखि १.५० डलर (१५० देखि १७५ रुपैयाँसम्म) रहेको छ ।