काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ ।
कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो । बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो । बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पाँच लाख युरोमा खरिद गरेर ल्याएको थियो ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सर्टिफाइड भएपछि छिट्टै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । बन्दाबन्दीका कारण अत्याधुनिक सिमुलेटरमार्फत तालीम सुचारु गर्न नसकेको जनाएको छ ।
एटीआर जहाजको उडानलाई सुरक्षित र व्यवस्थित गर्न सिमुलेटर उपयोगी हुने कम्पनीले बताएको छ । सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालीको जानकारी लिनसक्ने र यसले पाइलटलाई मात्र नभई प्राविधिक जनशक्तिका लागि पनि सहज हुने छ ।
यो एटीआरकै टाइप स्पेसिफीक सिमुलेटर हो । यसको लेआउट हुबहु जहाजकै हुन्छ । कुनै समयमा जहाजको सिस्टम फेल (हाइड्रोलिक, प्रेसराइज्ड) भएको अवस्थामा त्यसको परिणाम, समाधानबारे यो सिमुलेटरमार्फत प्रशिक्षण दिनसकिने कम्पनीले जनाएको छ ।
एटीआर जहाजमा भएका सबै उपकरण जडित यो सिमुलेटरमार्फत चालकलाई प्राविधिक प्रशिक्षण दिन सहज हुनेछ । शुरुआती पाइलटका लागि पनि प्राविधिक दक्षता वृद्धि गर्न यो सान्दर्भिक हुने बताइएको छ ।