१२ अर्ब लगानीमा भृकुटीमण्डपमा अत्याधुनिक मेगा हल निर्माण हुने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा अत्याधुनिक सुविधा सम्पन्न मेगा हल निर्माण गर्ने भएको छ ।

 

महानगरले भृकुटीमण्डपमा २१२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने गरी उक्त मेगाहलको प्रस्तावित डिजाइन तयार पारेको छ ।

 

उपत्यकाको मौलिक वास्तुकलालाई ध्यानमा राखेर नगरपालिकाको शहरी योजना आयोगले उक्त मेगाहलको प्रस्तावित डिजाइन तयार पारेको हो ।

 

१ लाख १४ हजार वर्गमिटरको पाँचतले मेगाहल निर्माणका लागि प्रस्तावित डिजाइन तयार पारिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

 

‘२१२ रोपनी क्षेत्रफलमध्ये करीब ६० प्रतिशतमा हरियाली बगैँचा र ४० प्रतिशतमा मेगा हल निर्माण हुनेछ,’ उनले भने । मेगा हल निर्माण गर्दा खुला क्षेत्र र हरियालीलाई प्राथमिकता दिएर डिजाइन तयार पारिएको उनको भनाइ छ ।

 

‘प्रस्तावित डिजाइनमै अहिले भैरहेका भौतिक संरचनाभन्दा निकै कम निर्माण गर्ने गरी योजना अघि सारेका छौँ,’ उनले भने, ‘यहाँ मात्रै होइन महानगरपालिका भित्रका पार्कलगायत अन्य डिजाइनहरुमा पनि खुला क्षेत्र र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएका छौँ ।’

 

उक्त भवनका दुई तलामा १ हजार कार अटाउने पार्किङ हुनेछ भने २०० जना अटाउने ६ वटा मिटिङ हल, ४५० जना अटाउने तीन वटा कन्फरेन्स हल र ३ हजार अटाउने अडिटोरियम हल एउटा रहने छ ।

 

‘मेगा हलमा एकै पटक दुई हजारसम्म अट्ने दुई वटा प्रर्दशनी हलसहितको डिजाइन तयार पारेका छौँ,’ उपाध्यक्ष बस्नेतले भने, ‘नवप्रर्वद्धन केन्द्र छ वटा रहने छन् भने ५ वटा स्वागत कक्षको डिजाइन तयार पारेका छौँ ।’

 

यो मेगा हलमा २२ वटा लिफ्ट र १२ वटा एस्कालेटर रहने छन् । उपाध्यक्ष बस्नेतका अनुसार ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा राखेर दीर्घकालिन र अल्पकालिन सोँचसहित मेगाहलको डिजाइन तयार पारिएको छ ।

 

‘हामीले डिजाइनमा चार स्थानबाट प्रवेश र दुई स्थानबाट निकासद्वारको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘पहिलो चरणमा साल्ट टे«निङ, भद्रकाली र भृकुटी मण्डपबाट प्रवेशको व्यवस्था हुनेछ ।’ धरहरा निर्माण सम्पन्नपछि धरहराबाट सीधै टुँडिखेलबाट अन्डरपाससहित मेगा हल प्रवेश गराउने गरी डिजाइन तयार पारिएको उनको भनाइ छ ।

 

बस्नेतका अनुसार १२ अर्बको लगानीमा निर्माण गर्न लागिएको यो हलमा ग्रिन रुम, फुडकोड, सार्वजनिक शौचालय, रेष्टुरेन्ट, सभाहल, प्रदर्शनीहललगायत रहने छन् ।

 

उपाध्यक्ष बस्नेतले कोरोनाको महामारीबाट मुलुक लयमा फर्किने वित्तिकै कामलाई तीव्ररुपमा अघि बढाइने बताए । समाज कल्याण परिषद् मातहतमा रहेको उक्त जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्न सम्वन्धित निकायसँग सहमतिको लागि आवश्यक पत्राचार भई प्रक्रिया अघि बढिसकेको महानगरले जनाएको छ ।

कोरोनाको औषधि पत्ता लागेको वेलायती वैज्ञानिकहरूको दाबी Read Previous

कोरोनाको औषधि पत्ता लागेको वेलायती वैज्ञानिकहरूको दाबी

विवादित डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज, बिजुलीको महशुल समायोजन (पूर्णपाठ) Read Next

विवादित डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज, बिजुलीको महशुल समायोजन (पूर्णपाठ)