अब मोबाइल वालेटमा पैसा राख्दा ब्याज पाइने

काठमाडौं । अब मोबाइल वालेटमा पैसा राख्दा पनि ब्याज पाइने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ जारी गर्दै ईसेवा, खल्तिजस्ता मोबाइल वालेटमा पैसा राख्दा पनि ग्राहकले ब्याज पाउने व्यवस्था गरेको हो ।

 

मानिसलाई वालेटमा पैसा राख्न प्रोत्साहन गर्नका लागि भन्दै भुक्तानी सेवा प्रदायकले लामो समयदेखि वालेटमा ब्याज दिन पाउने व्यवस्थाको माग गर्दै आएका थिए। राष्ट्र बैंकको यस व्यवस्थाले विद्युतीय कारोबारलाई वृद्धि गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने छ ।

 

त्यस्तै संस्थाले ग्राहकसँग कारोवार गर्दा देखापर्ने बिबादको समाधान गर्ने संयन्त्र र त्रुटिपूर्ण कारोवारको हिसाव मिलान गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने कानूनी व्यवस्था भएको छ।

 

अब त्रुटिपूर्ण रूपमा वालेटमार्फत हुने गलत भुक्तानी फिर्ता माग्न बाटो खुलेको छ। यद्यपि, यो व्यवस्था पूर्णतः कार्यान्वयनमा आउन अझै केही दिन लाग्ने  राष्ट्र बैंकले जनाएको छ।

 

यस्तै विनियमावलीमा भुक्तानी सेवा प्रदायक कम्पनीहरुले साधरण सेय जारी गर्नु पर्ने व्यवस्था गरेको छ । भुक्तानी सेवाकम्पनीहरु संचालनमा आएको ३ वर्ष भित्र कम्तीमा २० प्रतिशत आइपीओ जारी गर्नु पर्ने व्यवस्था गरेको हो ।

 

यसैगरी राष्ट्र बैंकले यस्ता संस्थाहरुलाई मर्जर तथा एक्विजिशनमा लैजान नीति समेत अवलम्बन गरेको छ । भुक्तानी सेवाप्रदायक कम्पनीहरुलाई एकआपसमा गाभ्न वा गाभिन वा प्राप्ति गर्न राष्ट्र बैंकले छुट्टै कार्यविधि ल्याउने भएको छ ।

एनसेलले गर्‍यो तीन मोबाइल वालेटसँग साझेदारी, खुद्रा विक्रेताबाट सीधै डेटा र भ्वाइस प्याक लिनसक्ने Read Previous

एनसेलले गर्‍यो तीन मोबाइल वालेटसँग साझेदारी, खुद्रा विक्रेताबाट सीधै डेटा र भ्वाइस प्याक लिनसक्ने

स्टक डिलरको अनुमति प्रक्रिया अगाडि बढाउन  नागरिक लगानी कोषलाई  बोर्डको पत्रचार Read Next

स्टक डिलरको अनुमति प्रक्रिया अगाडि बढाउन नागरिक लगानी कोषलाई बोर्डको पत्रचार