काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत कुनैपनि कम्पनीले आफ्नो कर्मचारीलाई ज्याला वा तलब दिँदा अनिवार्य प्यान नम्बर लिएको हुनुपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार नयाँ आर्थिक वर्ष (साउन १ गतेदेखि) कुनैपनि कम्पनीले कर्मचारी वा कामदारलाई १ हजार रुपैयाँभन्दा बढी ज्याला तथा पारिश्रमीक भूक्तानी गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनु पर्नेछ ।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब कुनैपनि प्राइभेट कम्पनी वा संस्थाले कर्मचारीलाई प्यान नम्बर बिना १ हजारभन्दा बढी पारिश्रमिक दिन पाउँने छैनन् । यदि प्यान नम्बर बिनै भूक्तानी गरेमा सो रकमलाई खर्चको रुपमा देखाउन पाइने छैन । र, सम्बन्धित कम्पनी तथा रोजगारदाताको आय सम्झेर त्यसमा थप कर लगाइने व्यवस्था गरिएको छ ।
सरकारको यो व्यवस्थासँगै पछिल्लो समय कामदार/कर्मचारीहरुमा प्यान सम्बन्धी विभिन्न जिज्ञासा उत्पन्न भएका छन् । उनीहरुमा प्यान कहाँबाट लिने ? कसरी लिने ? प्यान लिएपछि फाइदा/बेफाइदा के हुन्छ ? आदि जिज्ञासा उत्पन्न भएका हुन् । यी जिज्ञासा समाधानको लागि यो सामग्री सहयोगी हुने छ ।
स्थायी लेखा नम्बर के हो ?
स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने बिशेष र स्थायी संकेत अंक हो । यो नौ (९) अंकको हुन्छ । यो संकेत एक पटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदले पनि सो करदाताका लागि सँधैभरि सोही संकेत अंक कायम रहिरहने भएकोले स्थायी लेखा नम्बर भनिएको हो ।
यसलाई अंग्रेजीमा पर्मानेन्ट एकाउन्ट नम्बर र छोटकरीमा (पान) भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो नम्बर कर प्रयोजनको लागि व्यक्तिगत सूचनाको भण्डारण गर्ने कार्यको लागि प्रयोग गरिन्छ ।
यो व्यवसाय, रोजगारी एबं लगानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट श्रृजना हुने नौ अंकको यो नम्बरको उदाहरण १२३४५६७८९ यस्तो हुन्छ ।
प्यान नम्बर लिने यस्तो छ प्रक्रिया:
स्थायी लेखा नम्बर (प्यान) आन्तरिक राजस्व विभाग तथा मातहतका करदातासेवा कार्यालयहरुले जारी गर्छन् । विभागले प्यान लिनका लागि आफूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालयमा गएर फराम भरी प्यान लिन सक्ने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित व्यक्ति आवश्यक कागजात (प्रमाणित परिचयपत्र, दुई प्रति पासपोर्ट साइजको फोटो र कामगर्ने कम्पनीको सिफारिस पत्र) सहित कर कार्यालयमा गएर दरखास्त दिनु पर्दछ ।
यस्तै विभागले आफ्नो वेबसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गएर अनलाइन फारम भर्न सक्ने व्यवस्था गरेको छ । यदि अनलाइनबाट निवेदन दिएको हो भने त्यसको प्रिन्ट कपि लिएर कर कार्यालयमा गएर दरखास्त दिनु पर्छ ।
दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँंचबुझ गरी कम्प्यूटर प्रणालीबाट प्यान नम्बर जारी गर्छन् । र, आवेदकलाई सो प्यानको प्रमाणपत्र प्रदान गरिन्छ ।
यसरी दिनुहोस् अनलाइन आवेदन
– स्थायी लेखा नम्बर लिने तरीका
– वेव व्राउजरमा www.ird.gov.np पेज लोड गर्नुहोस् ।
– होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस् ।
– तत्पश्चात प्राप्त हुने screen मा Registration Folder लाई छनौट गर्नुहोस् ।
– तत्पश्चात Application for Registration मेनु क्लिक गर्नुहोस् ।
– Submission No प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा टाइप गरी आफ्नो कारोवार स्थलसंग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट (PAN ) लिने हो सोही कार्यालय छनौट गरी OK बटनमा क्लिक गर्नुहोस् ।
– Submission No प्राप्त गरी आवश्यकता अनुसारको व्यक्तिगत वा व्यावसायिक (Personal/ Business) छनौट गर्नुहोस् ।
– अब Screen मा माग भए बमोजिमको विवरणहरु प्रविष्टि गरी Save वटनमा क्लिक गर्नुहोस् ।
– आवश्यक सबै विवरण रुजु गरी विवरण ठीक भएमा Submit Button Click गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस् ।
– यसरी विवरण Submit भइसकेपछि त्यस पेजमा भएको Save र Submit Button Disable भै Print Button मात्र Enable हुन्छ ।
– अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरी आवश्यक अन्य कागजातहरु ( जस्तै व्यवसाय दर्ता प्रमाण, दुई प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, घरभाडा संझौता लगायतका, कारोबार स्थल पहिचान हुने गरी तयार गरेको हस्त लिखित नक्सा) सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सकिन्छ ।
स्रोत: आन्तरिक राजस्व कार्यालय