काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एअरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि गरिने चार्टर्ड उडानको नयाँ भाडादर र उडान तालिका सार्वजनिक गरेको छ ।
सरकारले दुई पटक तोकेको भाडादर पनि महँगो भएको भन्दै चौतर्फी विरोध भएपछि चार्टर्ड उडानको भाडा घटाउँदै हिमालयले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
हिमालयले तोकेको नयाँ भाडादर केही गन्तव्यको सरकारी स्वामित्वकोनेपाल एअरलाइन्सको भन्दा सस्तो छ भने केहीमा महँगो छ ।
हिमालयले तोकेको नयाँ भाडादर अनुसार साउदीको दमामबाट नेपाल फर्कने नेपालीको लागि हिमालयले ४६५ अमेरिकी डलर (करिब ५८ हजार रुपैयाँ), मलेसियाको क्वालालाम्पुरका लागि ३७२ डलर ( करिब ४४६०० रुपैयाँ) तोकिएको छ ।
यस्तै, यूएईको आबुधाबीका लागि ३८५ डलर ( ४६२०० रुपैयाँ), बंगलादेशको ढाकाका लागि १६५ डलर (१९८०० रुपैयाँ), माल्दिभ्सका लागि ४८० ( ५७६०० रुपैयाँ) सिंगापुर, नोमपेन्ह र कम्बोडियाका लागि ५२० (६२४०० रुपैयाँ) र श्रीलंकाका लागि ३८० डलर (४५६०० रुपैयाँ) तोकिएको छ ।
