काठमाडौं । सेयर धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले आगामी असार ४ गतेसम्मका लागि फेरि सेयर बजार बन्द गर्ने निर्णय गरेको छ ।
लकडाउन शुरु भएदेखि नै निरन्तर बन्द रहेको नेपाली सेयर बजार केही हप्ता अघि २ दिनका लागि खुलेको थियो । खुलेको समयमा उत्साहजनक कारोबार नभएको, सिमित मानिसहरुले थोरै सेयर कारोबार गरेर बजार घटाएको र कोरोनाको संक्रमण समेत बढेको भन्दै धितोपत्र बार्डले फेरि सेयर बजार बन्द गरिदिएको थियो । र, त्यही बन्द उसले आगामी असार ४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
यस्तोमा सेयर बजर सम्बद्ध लगानीकर्ताले विभिन्न टिप्पणी गर्न थालेका छन् । हिजो सेयर बजारको धेरै कारोबार हुने ठाउँ पुतलीसडकमा केही लगानीकर्ताहरु भेट्दा उनीहरु सेयर बजार खुल्नेमा धेरै आशावादी देखिन्थे । अत्यन्तै लामो समयसम्म सेयर बजार बन्द भएर आफ्नो लगानी अलपत्र परेकोमा उनीहरु चिन्तत एवं आक्रोशित थिए ।
‘पहिला खुलेको समयमा सेयर बजार घट्नुको प्रमुख कारण भनेको नै भाइरसको कारण फैलिएको त्रास थियो भने अब बजार खालेको खण्डमा बढ्ने वा घट्ने कारण भनेको बजारका आफ्नै अन्र्तनिहित कारणहरु हुनेछन् । मानिसहरु फाइदा वा घाटाको मूल्याङ्कन गर्न थाल्नेछन् ।,’
आम लगानीकर्ताको हित र चासोको बेवास्ता गर्दै लगानीकर्ता संघका नाममा खोलिएका केही संस्थाहरुको कुरा र मुख्य रुपमा बजार खोल्दा भन्दा बन्द गर्दा नै आनन्द मान्ने अल्छी सरकारी कदम प्रति उनीहरुको आक्रोश थियो ।
‘अब स–साना चिया पसलहरु समेत खुलिसके । ठूला उद्योग व्यवसायहरु खुलेको धेरै समय भइसक्यो । कति उद्योगहरु त लकडाउन अवधिभरी बन्द नै भएनन् । सेयर बजार मात्र दीर्घकालीन असर नै पर्ने गरि किन निरन्तर बन्द गरिएको हो हामीले बुझ्न सकेका छैनौं,’ एक लगानीकर्ताले भने ।’
केही समय अघि त सेयर बजार खोलिएको थियो नि त । थोरै सेयर कारोबार गरेर बजार निरन्तर घटाउन लागि परेपछि धितोपत्र बोर्ड आम लगानीकर्ताको सम्पत्ति जोगाइदिनका लागि परिस्थिति सहज नभइन्जेल बन्द गरेको होला भन्ने तपाईंलाई लाग्दैन ? भन्ने प्रश्नको जवाफमा लगानीकर्ताहरु त्यो समयमा देश र विश्वकै समग्र परिस्थित अनिश्चितताको भयमा रहेका कारणले उत्साहजनक रुपमा कारोबार गर्न उनीहरु नआएको बताउँछन् । अब भाइरसको डर धेरै हदसम्म घटेको र यो सँग लडेर जिवन बाँच्नुको विकल्प नरहेका कारण त्यस्तो अवस्था नआउने उनीहरुको बुझाइ छ ।
भाइरस अब मानव समाजबाट छिट्टै बिदा नहुने र योसँगै बाँच्ने उपायहरु नखोजी सुखै नभएको चिकित्सकहरु पनि बताउन थालेका छन् । अब कोरोना भाइरस अनिश्चितता र शंकाको पोको रहेन ।
‘पहिला खुलेको समयमा सेयर बजार घट्नुको प्रमुख कारण भनेको नै भाइरसको कारण फैलिएको त्रास थियो भने अब बजार खालेको खण्डमा बढ्ने वा घट्ने कारण भनेको बजारका आफ्नै अन्र्तनिहित कारणहरु हुनेछन् । मानिसहरु फाइदा वा घाटाको मुल्याङ्कन गर्न थाल्नेछन्,’ एक ब्रोकर भन्छन्, ‘मानिसहरुलाई अहिलेको कठिन परिस्थितिमा अर्थतन्त्र कमजोर हुन्छ भन्ने लाग्छ र सेयर बजारमा सूचीकृत कम्पनीहरुको मूल्य त्यसका आधारमा बढी जस्तो लाग्छ भने बजार घट्छ । बजार केही घट्दा अब मूल्य ठीक ठाउँमा आयो, किन्नु पर्छ भन्ने लाग्छ भने बजार बढ्छ । यो नै सेयर बजारको स्वभाविक र असली चरित्र हो ।’
यी ब्रोकरको भनाइलाई विश्वका अन्य सेयर बजारहरुको उदाहरणले पनि पुष्टि गर्छन् । कोरोनाको महामारी पनि तीव्र गतिमा घट्न थालेका बजारहरु भाइरसको डर विस्तारै कम हुन थालेसँगै बढ्न थालेका छन् । घटेको बजारमा किन्दा फाइदा हुने मानिसहरुले किन्न थालेका छन् । सेयर बजार भनेको भविष्यको लगानी हो । भविष्य प्रति जो आशावादी हुन्छ उसले सेयर किन्छ, जसलाई भविष्य अनिश्चत लाग्छ उसले बेच्छ ।
भारतीय सेयर बजार लकडाउन शुरु भए पछि व्यापक रुपमा घट्यो । ४३ हजारको वरिपरि रहेको सुचक २७ हजारसम्म आइपुग्यो । अहिले फेरी ३४ हजारसम्म पुग्यो । अमेरिकी सेयर बजार नासडाक यहि समयमा नै अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो ।
लगानीकर्ता संघहरु प्रति स्वयं लगानीकर्ताकै गुनासो
सेयर बजारको यस्तो सामान्य अवधारणा पनि विभिन्न लगानीकर्ता संघ र धितोपत्र बोर्डले बुझेको देखिँदैन । उनीहरु सेयर बजार अबका दिनमा घट्दैन भन्ने प्रष्ट प्रतिबद्धता पाए मात्र बजार खोल्नुपर्नेमा छन् । तर, यस्तो प्रतिबद्धता कसको ? सेयर बजार नघट्ने जिम्मा कसले लिइदिनुपर्ने ? के कसैले जिम्मा लिएका भरमा सेयर बजार बढ्छ वा घट्न रोकिन्छ ?
‘सेयर बजारको दिशा र गति बदल्नका लागि आन्दोलन गरेर हुँदैन । थाहा छैन नेपालमा बजार घट्दा आन्दोलन गर्ने वा बजार घट्छ भनेर खोल्न नदिन आन्दोलन गर्ने परिपाटी कहाँबाट शुरु भयो । राजनीति र सेयर बजारको चरित्र बेग्ला बेग्लै हुन्छ । एउटै शुत्र दुवै तिर लागू गर्ने प्रयास गर्नु नै अहिलेको मुख्य समस्या भएको छ । हाम्रा लगानी संघका साथिहरु सायद राजनीतिबाट धेरै प्रभावित हुनुहुन्छ ।,’
नेपाली सेयर बजारले १८०० अंकको उच्चतम विन्दु चुम्दा सबै कुरा सकारात्मक नै त थियो । मानिसहरु उत्साहित थिए । सबैतिर सेयर बजारकै चर्चा हुन्थ्यो । तर, बजार घटेर १२०० भन्दा पनि तल आइपुग्यो त !
बजारका आफ्नै अन्तर्निहित नियम हुन्छन् । चरित्र हुन्छन् । कुशल लगानीकर्ताले यस्ता नियम र चरित्रहरुलाई बुझेर आफू अनुकूल प्रयोग गर्ने प्रयास गर्ने हो । कसैबाट बजार नघट्ने वा बढाइदिने प्रतिबद्धता खोजेर सेयर बजारलाई बन्दै गराएर बस्नका लागि भूमिका खेल्ने होइन ।
‘सेयर बजारको दिशा र गति बदल्नका लागि आन्दोलन गरेर हुँदैन । थाहा छैन नेपालमा बजार घट्दा आन्दोलन गर्ने वा बजार घट्छ भनेर खोल्न नदिन आन्दोलन गर्ने परिपाटी कहाँबाट शुरु भयो । राजनीति र सेयर बजारको चरित्र बेग्ला बेग्लै हुन्छ । एउटै शुत्र दुवै तिर लागु गर्ने प्रयास गर्नु नै अहिलेको मुख्य समस्या भएको छ । हाम्रा लगानी संघका साथिहरु सायद राजनीतिबाट धेरै प्रभावित हुनुहुन्छ,’ एक लगानीकर्ताले भने ।
सेयर बजारमा संरचनागत सुधारका लागि प्रयास गर्न नसकिने होइन । तर, यहाँ बजार बढाउन र घटाउन पनि आन्दोलन गर्ने र बजारलाई उसको चरित्र अनुसार चल्न नदिने प्रयास नै हुने गरेको ती दिग्गज लगानीकर्ताको गुनासो छ । बजार स्वभावीक ढंगले चल्न नपाए यसमा दिर्घकालिन रुपमै ठूलो प्रभाव पर्ने उनको बुझाइ छ ।
नेपालमा धेरै पूर्णकालीन लगानीकर्ताहरु छन् । सबैजना काममा फर्किँदा उनीहरु भने अझै काममा फर्किन पाएका छैनन् । यसले उनीहरु मानसिक समस्याको शिकार नै हुने अवस्था आउन थालेको लगानीकर्ताहरु बताउन थालेका छन् ।
सरकार र सेयर बजार
हिजो सेयर कारोबार हुने प्रमुख ठाउँहरुमा घुम्दा सेयर लगानीकर्ताहरुको सरकार प्रति कुनै भरोसा नरहेको पनि देखियो । सरकारले अनावश्यक रुपमा सेयर धितोपत्र बोर्ड र नेप्सेमा हस्तक्षेप गर्ने गरेका कारण पनि सेयर बजार अहिले पनि खुल्ने कुनै सुरसार नहुँदा सेयर बजारले उल्लेख्य संरचनागत सुधार गर्न नसकेको उनीहरुको बुझाइ छ । ‘नेप्सेलाई निजीकरण गरिदियो भने पनि धेरै समस्या समाधान हुन्थ्यो कि जस्तो लाग्छ मलाई,’ पुतलीसडकमा भेटिएका एक लगानीकर्ताले भने ।
सेयर लगानीकर्ताहरुमा सरकारले समग्रमा अर्थतन्त्र प्रति धेरै चासो नराखेको र सेयर बजारको बारेमा त झन् वास्ता नै नगरेको उनीहरुको बुझाई छ ।
‘उहाँहरुको राजनीतिक क्रियाकलापहरु सबै चलेको छ । बन्द भएको त अर्थतन्त्र मात्र हो । अर्थतन्त्रमा पनि सेयर बजार चाँही ठप्प नै छ’, सुस्केरा हाल्दै एक लगानीकर्ताले सुनाए, ‘उस्तै परे सरकारले अर्को ३–४ महिना बजार बन्द गर्दिन्छ । घट्यो भने फेरी अर्थमन्त्री वा प्रधानमन्त्रीको विरोध गर्छन् भनेर उहाँहरुलाई बन्द गर्न नै हाइसञ्चो भइरहेको छ ।’
नेपालमा राजनीति प्रधान छ । अर्थतन्त्र दोयम । राजनीति मूल रुपमा पेटको आगो निभाउनका लागि गरिने भएपनि नेपाली समाजमा अर्थतन्त्र प्रधान हुन सकेको छैन ।
चिन्तक आहुति भन्छन्, ‘नेपाल राज्य सञ्चालन गर्नेले एतिहासिक रुपमै तीनवटा काम मात्र गरेका छन् । पहिलो तलब खाने, दोस्रो घुस खाने, तेस्रो कमिशन खाने ।’
‘नेपाली राजनीतिक र कर्मचारीतन्त्रको नेतृत्वको अर्थतन्त्र भनेको माथिका ३ वटा कुरा खानको लागि स्रोत जुटाउने क्षेत्रमात्र भएको छ । उहाँहरुको तलब, घुस र कमिशनमा अहिले सोझो प्रभाव नपरिहालेको भएर पो अर्थतन्त्र र अझ सेयर बजार उपेक्षामा परेको पो हो कि ?’, एक लगानीकर्ताले व्यंग गरे ।