काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालू आवको तुलनामा बजेट करिब ५० करोड कम हो
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सोमबारको कर्णाली प्रदेशसभामा चालू खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार, पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
बजेट कोरोना महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सृजनामा केन्द्रित रहेको छ । प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि ८७ करोड ४१ लाख, रोजगारतर्फका कार्यक्रममा २ अर्ब ५८ करोड २६ लाख विनियोजन गरेको छ ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ३० करोड ६ लाख ५३ हजार, चालू आर्थिक वर्षके खर्च हुन बाँकी रकमबाट ११ अर्ब १९ करोड ९ लाख ८५ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत आउने ७ अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त भएको ९ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट ४ अर्ब ४९ करोड ११ लाख परिचालन गर्ने बताइएको छ ।