काठमाडौं । सरकारी स्वामित्वको हवाई सेवा कम्पनी नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स)ले उद्धार उडानको भाडादर सार्वजनिक गरेको छ ।
यसअघि तोकिएको भाडादर महँगो भएको भन्दै चौतर्फी विरोध भएपछि निगमले खाडी मुलुकसहित मुख्य श्रम गन्तव्य को भाडादर घटाए घटाएर उद्धार उडानको भाडादर सार्वजनिक गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालको प्रस्तावित हवाई भाडादरमा पुनरवलोकन गर्न अलपत्र यात्रु उद्धारको जिम्मा पाएको निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेका थिए। सरकारको सो आग्रहसँगै अहिलेको विषम परिस्थितिलाई मध्येनजर गर्दै भाडादर घटाइएको निगमले जनाएको छ ।
यसअघि प्रस्ताव गरिएको भाडादरमा सामान्य अवस्थाको भाडादर भन्दा चार गुणासम्म महँगो थियो । निगमले भाडादर घटाएसँगै विशेष गरी खाडी राष्ट्र, मलेसिया लगायत मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वेश फर्किन थोरै भएपनि राहत पुग्नेछ ।
विभिन्न देशमा रहेका नेपालीका समस्यालाई मध्येनजर गर्दै निगमले यस विषम परिस्थितिमा नाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै चार्टर्ड उडानको भाडादर घटाउने निर्णय गरेको बताएको छ ।