काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा वित्तीय व्यवस्थापनका लागि पौने २ खर्ब आन्तरिक ऋण उठाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको जेठ मसान्त सम्ममा १ खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाइएको छ ।
वित्तीय व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको करिब ९० प्रतिशत ऋण उठाउन सफल भएको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्ष लक्ष्यको ५० प्रतिशत मात्रै आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले यो वर्ष तुलनात्मक रुपमा धेरै ऋण उठाउन सफल भएको हो ।
राष्ट्र बैंकले चालू आवमा १ खर्बको विकास ऋणपत्र विक्री गरिसकेको जनाएको छ । ७५ अर्ब बराबरको ऋण ट्रेजरी बिल तथा वैदेशिक रोजगारी बचतपत्र विक्रीबाट उठाएको छ ।
सरकारी खर्च व्यवस्थापनका लागि सरकारले राष्ट्र बैंकमार्फत आन्तरिक ऋण उठाउने गरेको छ । राष्ट्र बैंकले नागरिक बचतपत्र, ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगारी बचतपत्र जस्ता वित्तीय उपकरण विक्री गरी आन्तरिकऋण उठाउने गरेको छ ।