काठमाडौं । कोरोनाका कारण यस वर्ष चिया तथा कफीको उत्पादन घट्ने अनुमान गरिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाएको लकडाउनका कारण चियाको पात टिप्न नसकिएकाले उत्पादन घट्ने भएको हो ।
लकडाउनका कारण यो पटक चियाको उत्पादन २० देखि २५ प्रतिशतले घट्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले बताए । ‘ठिक्क चियाको पहिलो पात टिप्ने समयमा लकडाउन भयो । जसले गर्दा केही समय पात टिप्न कोही गएनन्,’ उनले भने, ‘भख्खर फुल्न थालेका चियाका पातहरु टिप्न ढिलाई गर्दा त्यो छिप्पिने भएकोले त्यसको असर उत्पादनमा पर्छ ।’
लकडाउनका कारण केही दिन काम नभए पनि त्यसपछि सरकारसँग सहकार्यगरी सुरक्षा सामग्रीका साथ काम सुरु गरिएको थियो । पातहरु टिप्ना साथ त्यसलाई प्रशोधनका लागि पठाउनु पर्ने हुन्छ । टिप्दा छुट्टाछुट्टै बसे पनि उत्पादनका क्रममा सबै एकै ठाउमा बस्नु पर्ने भएकाले त्यसमा विशेष ध्यान पुर्याइएको उनले बताए ।
‘चियाको पहिलो पात टिपे पछि फेरि त्यहाँ अर्को पात हुर्कन थाल्छ, त्यो समयमा टिपेन भने त्यो छिपिन्छ र त्यसको गुणस्तर घट्छ, यसो भए बजार पाउन सकिँदैन,’ प्रवक्ता खनालले चाणक्य पोष्टसँग भने ।
तराईमा टिप्ने समय नभए पनि पहाडी भेगमा चिया टिप्ने समय भइसकेको उनले बताए । उनले लकडाउन भए पनि भारतमा चिया निर्यात भइरहेको जानकारी दिए । तेस्रो मुलुकहरुमा भने चिया निर्यातमा लक डाउनको असर कायम छ ।
नेपाल व्यावसायिक चियाखेती सर्वेक्षण २०७५ ले वार्षिक २ करोड २२ लाख ४० हजार किलो चिया उत्पादन भएको देखाएको हो । चियाखेती गर्ने कृषक÷व्यवसायीमध्ये ८२.३ प्रतिशतले १ हेक्टर भन्दा कममा चियाखेती गरेकोसर्वेक्षणले देखाएको छ ।
एक हेक्टरभन्दा कम हेक्टरका खेती गर्ने साना किसान र एक हेक्टरभन्दा बढी हेक्टरमा खेती गर्नेलाई व्यावसायिक कृषकको रुपमा परिभाषित छ । सर्वेक्षण अनुसार कृषक तथा व्यवासायीले १२ लाख ६६ हजार हेक्टरमा चिया खेती गरिएको पाइएको छ ।
मुलुकभरका ७७ जिल्लामध्ये १४ जिल्लामा चियाको व्यावसायिक चियाखेती हुने गरेको छ । देशभर उत्पादन गरेको चियामध्ये सीटीसी चिया ५५ प्रतिशत निर्यात हुने गरेको छ भने ९० प्रतिशत प्रांगरिक चिया विदेश निकाशी हुन्छ ।
कफी उत्पादन आधाले घट्ने
यो वर्ष कफी उत्पादन ४० देखि ५० प्रतिशतले घट्ने अनुमान गरिएको छ । बोर्डका अनुसार लकडाउन अगावै आएको मौसमका कारण यो पटक कफीमा धेरै असर परेको छ । लकडाउनका कारण पनि केही असर पर्न गएको बोर्डका प्रवक्ता खनालले बताए ।
उनले लक डाउनले कफी उत्पादनमा खासै असर नपारे पनि लक डाउन अगाडि भएको मौसम फेक्जुएनले कफी उत्पादनमा ठूलो असर पारेको छ ।लकडाउनको २ महिना अघि बेमौसमि र मल अभावका काण कफीको उत्पादन ३५ देखि ४० प्रतिशत घट्ने अनुमान गरिएको उनले बताए ।
‘लकडाउन अगाडि क्लाइमेट फल्कजुएसनका कारण ३५ देखि ४० प्रतिशत कफी उत्पादन घट्ने अनुमान थियो, लक डाउनका कारणले पनि थोरै असर पारेको छ, योसहित कफी उत्पादनमा ४० देखि ५० प्रतिशत घट्ने देखिन्छ,’ खनालले भने ।
नेपालमा ३२ जिल्लामा व्यावसायिक कफीखेती हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ । ती जिल्लामा ६ हजार ३४६ कृषक, व्यवसायीले ९७३ हेक्टर जमिनमा कफीखेती गर्दै आएका छन् । त्यसबाट वार्षिक १ हजार ५७३ मेट्रिकटन कफी उत्पादन भएको सर्वेक्षणले देखाएको छ ।