काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सबै सपिङ मलहरु असार १ गतेदेखि खुल्ने भएका छन् ।
शुक्रबार काठमाडौंमा बसेको विभिन्न १२ वटा सपिङ मलका व्यवसायीहरुको संगठनको बैठकले असार १ गतेबाट सबै सपिङ मल खोल्ने निर्णय गरेका हुन् ।
सरकारले लकडाउन खुकुलो बनाउँदै शुक्रबारदेखि सबै डिपार्टमेन्ट स्टोर र पसलहरु खुल्न दिने निर्णण गरेको थियो । तर सपिङ मल भने तत्कालै खोल्न नदिने निर्णय गरेपछि सरकारको त्यो निर्णय उचित नभएको भन्दै उनीहरुले सपिङ मल पनि खोल्ने निर्णय गरेका हुन् ।
उनीहरुले व्यवसायहरु सञ्चालनमा आएपछि माक्स, स्यानिटाइजर लगायत सुरक्षाका आवश्यक साधनहरु प्रयोग गरी उच्च सुरक्षा सतर्कता अपनाइने बताएका छन् ।
पिपुल्स प्लाजा व्यापार संघ, सिटी सेन्टर व्यापार संघ, ताम्राकार, सिभिल मल व्यापार संघ, कम्प्लेक्स व्यापार संघ, संचयकोष भवन, आईप्लेक्स कम्प्लेक्स, आर बि कम्प्लेक्स व्यापार संघ, के.एल टावर व्यापार संघ, रञ्जना मल व्यापार संघ, लाबिम मल, बीजी मल र विशाल बजार व्यापार संघले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै सरकारी निर्णय गलत भएको बताएका छन् ।
सुरक्षाका दृष्टिकोणले पनि सपिङ मलहरु सुरक्षित रहेको भन्दै उनीहरु आवश्यक सुरक्षा सतर्कता अपनाएर व्यवसाय शुचारु गर्ने बताएका छन् । लामो समय लकडाउन लम्बिँदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई तिर्नु पर्ने कर समेत तिर्न नसक्ने अवस्थामा पुगिएकाले व्यवसाय खोल्नुको विकल्प नरहेको उनीहरुको भनाइ छ ।
