काठमाडौं । आजको विश्वले वित्तीय प्रविधिमा ठूलै छलाङ लगाइसकेको छ । डिजिटल पेमेन्टको युग शुरु भएर पैसाको युग नै समाप्त हुन थालिसक्यो । तर, पनि मानव समाजको शुरुवाति समय तिरको कारोबार गर्ने प्रणाली (बार्टर प्रणाली) अझै हराएको छैन ।
वस्तु तथा मालसामानको सट्टापट्टा (बार्टर) गर्ने परम्परा मानविय सभ्यताको सुरुवात भएदेखि नै प्रचलनमा रहेको छ । र, अहिलेको आधुनिक युगमा पनि विश्वका कतिपय देशमा, विशेषगरि आर्थिक र राजनीतिक समस्याबाट गुज्रिरहेका देशमा, पैसामा कारोबार नगरी सामानसँग सामान नै सट्टापट्टा गर्ने प्रचलन रहेको पाइन्छ ।
भेनेजुयलामा मुद्राको क्रयशक्ति घट्दै (मुद्रा अवमूल्यन) गएपछि त्यहाँ माछामार्दै आफ्नो जिविका चलाउँदै आएका मानिसहरुले अहिले खाना तथा औषधी माछासँग सट्टापट्टा गर्न थालेका छन् । आठ वर्षअघि ग्रीसमा आएको आर्थिक संकटका बेला त्यहाँ पनि सामान सट्टापट्टा गरिएको थियो ।
सट्टापट्टा गर्ने चलन व्यक्तिगत स्तरमा मात्र सीमित नरही सरकारको तर्फबाट पनि हुन थालेको छ । अहिले गम्भिर आर्थिक संकटको सामना गरिरहेका भेनेजुयला, इरान जस्ता देशले मुद्राभन्दा पनि सामानको सट्टापट्टा गर्न थालेका छन् । यी देशले अमेरिकाले लगाएको नाकाबन्दीको असरबाट देखा परेको मुद्राको अवमूल्यन कम गर्न सामानको सट्टापट्टा प्रयोगमा ल्याएका हुन् ।
सट्टापट्टा विशेष अवसरमा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुले पनि प्रचलनमा ल्याएका छन् । सन् १९९६ मा इन्डोनेसियाको वायुयान निर्माता कम्पनी ‘इन्डष्ट्रि पासवात ट्रेवाङ्ग नुसान्तार’ ले दुई ओटा वायुयानको सट्टा थाइल्याण्डसँग १ लाख १० हजार टन चामाल साटेको थियो ।
यस्तै सन् १९७० मा अमेरिकाले सोभियत संघसँग पेय पदार्थ पेप्सीको सट्टा ‘टोमाटो पेष्ट’ र रसियन भोड्का साटेको थियो ।पेप्सीले त्यो समयमा पिज्जा हट रेष्टुरेन्ट चेन पनि चलाईरहेको हुनाले उक्त टोमेटो पेष्ट पिज्जा बनाउन प्रयोग गरिएको थियो ।
सामान सट्टापट्टाको चलनलाई इरानले सन् १९७० को इरानी क्रान्तिको समय देखिनै पछ्याउँदै आएको छ । उसले अमेरिकाले लगाएको नाकाबन्दीले गर्दा अहिले पनि धेरै क्षेत्रमा सट्टापट्टा गर्ने प्रचलन कायम राखेको छ ।
संयुक्त राष्ट्र संघले सन् २०१० देखि १५ सम्म आर्थिक नाकाबन्दी लगाएपछि इरानको लागि अन्तर्राष्ट्रिय बजारबाट आवश्यक सामान खरिद गर्न असम्भव जस्तै भयो । त्यसैले, उसले नाकाबन्दीको मार कम गर्न विश्वका अन्य देशहरुसित कच्चा तेल र सुनसँग चामल, खाने तेल, चियालगायतका खाद्य सामाग्री सट्टापट्टा गर्यो ।
भेनेजुयलाले भने सामान–सामान मात्र नभई सामान–काममदार सट्टापट्टा गर्दै आएको छ । उसले क्यूबालाई दैनिक ५० हजार ब्यारेल तेल पठाउँदै आएको छ । त्यसको सट्टामा क्यूबाले डक्टर, शिक्षक, आर्थिक सल्लाहकार जस्ता उच्च दक्ष जनशक्ति काम गर्न पठाउँछ ।
इरानले सन् २०१५ मा संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्र (अमेरिका, चीन, रुस, फ्रान्स र बेलायत), युरोपेली युनियन र जर्मनीसँग परमाणीक सम्झौँता गर्यो । त्यसपछि मात्रै सामान्यरुपमा अन्तर्राष्ट्रिय बजारबाट सामान खरिद गर्न पाएको थियो ।
तर, गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले फेरि नाकाबन्दी लगाएपछि उसले फेरि सामानसँग सामान सट्टापट्टा गर्न थालेको छ । इरानले अहिले भारत लगायतका देशसँग तेलसित चामल साटीरहेको छ ।
भेनेजुयलाले भने सामान–सामान मात्र नभई सामान–काममदार सट्टापट्टा गर्दै आएको छ । उसले क्यूबालाई दैनिक ५० हजार ब्यारेल तेल पठाउँदै आएको छ । त्यसको सट्टामा क्यूबाले डक्टर, शिक्षक, आर्थिक सल्लाहकार जस्ता उच्च दक्ष जनशक्ति काम गर्न पठाउँछ ।
अमेरिकास्थित जर्जटाउन विश्वविद्यालयका प्रोफेसर मिचेल चिन्कोटाका अनुसार आर्थिक नाकाबन्दी लगाइएका धेरैजसो देशहरुले अहिले पनि अन्य देशसँग सामान सट्टापट्टा गर्दै आइरहेका छन् । उनले भनेका छन् ‘यसो हुनुको प्रमुख कारण ती देशको न्यून नगद भूक्तानी क्षमता हो, उनीहरुले मुद्रा र सामानको मिश्रित माध्यमको प्रयोगबाट सामान तथा भविष्यको लागि आवश्यक लगानी खरिद गर्दछन् ’
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका अर्थशास्त्री शिर्ले मुस्ताफा भन्छन् ‘सन् २००८ पछिको आर्थिक संकटका कारण सट्टापट्टा सम्बन्धी केही सम्झौता नै भएका छन् ।’
सन् १९९० मा मलेसियाले पनि रसियासँग तेलसँग लडाकु जहाज सट्टापट्टा गरेको थियो । यो बर्ष पनि उसले रसियासँग त्यस्तै लेनदेन गर्ने प्रस्ताव राखेको थियो ।
समान तथा सेवाको व्यापारले सरकारलाई विदेशी मुद्रा सञ्चित गर्न सहयोग पुग्छ । त्यसकारण कतिपय देशले मुद्राको साटो सामान सट्टापट्टा गर्ने परिपाटी कायमै राखेका छन् । अहिले पनि विश्वका राजनीतिक अस्थिरता भएका केही विकासोन्मुख देशले सामान सट्टापट्टा गरिरहेका छन् । बीबीसीबाट