काठमाडौं । चोभारमा बन्दै गरेको अत्याधुनिक पुष्प तथा फलफूल बजार निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ । निर्माणको समयावधी सकिए पनि चालू आर्थिक वर्षको पुष महिनासम्ममा सम्पन्न गरिने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार निर्माणको म्याद सकिए पनि पुषसम्म सम्पन्न गर्ने गरी फेरि म्याद थप गरिएको छ ।
निर्माणको समय थप गरिए पनि लागत रकम भने थप नगरिएको उनले जानकारी दिए । ‘हामीले यही पुष महिनासम्ममा सक्ने गरि म्याद थप गरेका छौं, म्याद मात्र थपेका हौँ बजेट थप गरिएको छैन,’ उनले चाणक्य पोष्टसँग भने ।
चोभारमा २२ रोपनी जग्गामा पुष्प तथा फलफुल बजार बनाउने काम भइरहेको छ । कुल ३३ करोड रुपैयाँको लगानीमा बन्दै गरेको चोभार पुष्प तथा फलफुल बजारमा अन्डर ग्राउन्ड पार्किङसहितको फलफूल बजार बनाउन लागिएको हो ।
अहिले १ हजार ५६० वर्गमिटरमा मुख्य फलफूल बजार बनाउने काम भइरहेको छ । त्यहाँ पार्किङसहितको बजार रहने मन्त्रालयले जानकारी दिएको छ ।पुष्प बजारको लागि भने छुट्टै ४ सय वर्ग फिटमा आँखिझ्याल सहितको आकर्षक चार तले भवन निर्माण भइरहेको छ ।
चोभारको पुष्प तथा तरकारी बजार निर्माण पछि कालीमाटी तथा फलफुल बजार विकास समितिलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।यस्तै नौविसे केन्द्रमा पनि साढे ४ रोपनी जग्गामा तरकारी बजार खोल्ने तयारी भइरहेको सुवेदीले जानकारी दिए ।
नेपालमा सबैभन्दा बढी तरकारी आयात भारतबाट हुन्छ भने त्यसपछि चीन, बङ्गलादेशबाट हुने गरेको छ । यस्तै नेपालका विभिन्न स्थानहरु भक्तपुर, चितवन, दोलखा, गोरखा, झापा, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, सिन्धुपाल्चोक र तनहुँबाट पनि तरकारी आउने गरेका छन् ।