हिमालयान एयरलाइन्सको ढाका उडान आजबाट सुरु, सातामा तीन उडान गर्ने

काठमाडौं । निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले आजबाट बंगलादेशको राजधानी ढाका उडान सुरु गरेको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले आजबाट काठमाडौँ–ढाका सिधा उडान सुरु गरेको हो ।

 

कम्पनीका अनुसार एचनाइन ६७८ काठमाडौँबाट स्थानीय समय ११:१० मा उडान गरेको छ । सो जहाज  स्थानीय समय १३:१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । आजै ढाकाबाट एचनाइन ६७९ जहाजले स्थानीय समय २:१० मा उडान गरी काठमाडौँमा दिउँसो ३:२० मा अवतरण हुने कम्पनीले जनाएको छ ।

 

उक्त एयरलाइन्सले १५० इकोनोमी क्लास र आठ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानबाट ढाका उडान गरेको हो ।

 

दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने कम्पनीले जनाएको छ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीन वटा जहाज छन् ।

 

बंगलादेश र नेपालका व्यावसायिक यात्रु तथा घुमघाममा जाने यात्रु यस उडानबाट लाभान्वित हुने कम्पनीले उल्लेख गरेको छ । बंगलादेश धेरै नेपाली विद्यार्थी भएको मुलुक पनि हो । बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटन नेपाल भ्रमणमा आउने गरेका छन् ।

 

काडमाडौं–ढाका–काठमाडौं रुटमा सातामा तीन उडान तालिका रहेको छ । सोमबार, बुधबार र शनिबार हिमालय एयरलाइन्सको जहाज ढाकाका लागि उड्नेछ ।

 

हिमालय एअरलाइन्सले मध्यपूर्वी एसियाका गन्तव्य दोहा, दुबई/आबुधावी र दमाममा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । कम्पनीले निकट भविष्यमा चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र नाङचाङ, चाङ्चिङ, चाङ्सा र गुइयङजस्ता गन्तव्यसम्म उडान विस्तारको योजना रहेको उल्लेख गरेको छ ।

 

जापानीज भाषा परीक्षा कात्तिकमा हुने, पहिलो चरणमा केयर गिभर लैजाने Read Previous

जापानीज भाषा परीक्षा कात्तिकमा हुने, पहिलो चरणमा केयर गिभर लैजाने

उपत्यकामा बन्दै गरेको अत्याधुनिक पुष्प तथा फलफूल बजारको काम ८० प्रतिशत सम्पन्न Read Next

उपत्यकामा बन्दै गरेको अत्याधुनिक पुष्प तथा फलफूल बजारको काम ८० प्रतिशत सम्पन्न