चीन जोड्ने कोदारी राजमार्गमा खाल्डैखाल्डा, तातोपानी नाकाबाट सामान ल्याउन समस्या

छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्ग अन्तर्राष्ट्रियस्तरको सडक हो । तर, सडकको दुरावस्थाले आवतजावत गर्नै समस्या परेको छ ।

 

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाली सेना र अन्य निजी निकायले ल्याउने स्वास्थ्य सामग्री यही सडक भएर राजधानी भित्रिन्छन् ।

 

भूकम्प र बाढीले क्षतिग्रस्त सडक गतवर्ष चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले मर्मत गरेको थियो । वर्ष दिनअघि चिनियाँ कम्पनीले भरेको पातलो कालोपत्रे निरन्तर परेको बर्सात्सँगै बगेर भोटेकोशीमा मिलिसकेको छ । भर्खरै खोलेको कच्ची ट्र्याकमा चलेझै सवारी साधन जसोतसो गुडिरहँदा सरकारी निकायको नजर यो सडकमा परेको छैन ।

 

भन्सारबाट छुटेका ट्रक र कन्टेनर तातोपानीबाट बाह्रबिसे आइपुग्न पाँच घण्टा लाग्छ । स्वास्थ्य उपकरण, स्याउ, लसुन र हाइड्रोपावरका सामग्री बोकेर भन्सारबाट राजधानी हिँडेका कन्टेनर भ्यान कहाँ पुगेर दुर्घटनामा पर्ने हो निश्चित छैन । सडकको दुरावस्थाले सवारी साधनलाई जोखिममा पारेको छ ।

 

बाह्रबिसेदेखि तातोपानी मितेरीपुलसम्मको २६ किलोमिटर कोदारी सडक जीर्ण देख्दादेख्दै सरकारी नम्बरप्लेटका महङ्गा गाडी मुश्किलले गुडाइन्छ ।

 

बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार र सडक डिभिजन चरिकोटका जनप्रतिनिधि र उच्च अधिकारी दिनदिनै यही सडकबाट आउजाउ गर्छन् । स्थानीयले पटकपटक औँला ठड्याएर सरकारका निकायलाई खबरदारी गर्दा पनि कसैले चासो दिँदैनन् ।

 

२६ किलोमिटर सडक कम्तीमा ३० ठाउँमा बिग्रिएको छ । कतै पहिरो त कतै ठूल्ठूला खाल्डाखुल्डी छन् । सडकको दुरावस्थाले बिरामी बोक्ने एम्बुलेन्स बाह्रबिसेबाट भोटेकोशी गाउँपालिकातर्फ जानै मान्दैनन् । दर्जनौँ पहिरा र खाल्डाखुल्डी छिचोलेर बाह्रबिसे आउनेजाने एम्बुलेन्सले ३ हजारसम्म भाडा असुल्छन् । बोलेरो गाडीमा आउँदा १ हजार भाडा तिर्नुपर्ने बाध्यता छ ।

 

‘जीर्ण सडक र महङ्गो भाडाले सीमा क्षेत्रका स्थानीय मारमा परेका छन्,’ सिन्धुपाल्चोक चेम्बर अफ कमर्शका कोषाध्यक्षसमेत रहेका स्थानीय ग्याल्साङ शेर्पाले भने ।

 

बर्खा नलाग्दै कोदारी राजमार्गको अवस्था खराब बनेको उनले सुनाए। ठाउँठाउँमा सडक किनार भत्केर र पहिरो लागेर भोटेकोशी नदी थुनिँदै गएकोले सीमा क्षेत्रका स्थानीय उच्च जोखिममा परेका छन् ।

 

सडककै दुरावस्थाले कतिपय विकास निर्माणका काम प्राय ठप्प छन् । मध्यभोटेकोशी जलविद्युत् आयोजना, माथिल्लो भोटेकोशी र भोटेकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिकाको विकास निर्माणका योजना अलपत्र परेका हुन् ।

अब शनिबार पनि बैंकका शाखा खोल्नु पर्ने Read Previous

अब शनिबार पनि बैंकका शाखा खोल्नु पर्ने

भारतले स्पेन र बेलायतलाई पनि उछिन्यो, धेरै कोरोना संक्रमित हुने देशको सूचीमा चौथो स्थानमा Read Next

भारतले स्पेन र बेलायतलाई पनि उछिन्यो, धेरै कोरोना संक्रमित हुने देशको सूचीमा चौथो स्थानमा