काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार पनि राजस्व संकलन गर्ने शाखा सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंक नियमन विभागले एक सूचना जारी गर्दै कर बुझाउने व्यवस्था सहज गर्न जेठ३२ सम्म शनिबार तथा सार्वजनिक बिदाका दिनमा समेत बैंकका शाखा खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको यो निर्देशनसँगै बैंकका राजस्व संकलन गर्ने शाखा जेठ ३१ गते शनिबार समेत खोल्नुपर्ने भएको छ । साथै, राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस पनि पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।
‘कोरोना संक्रमणका कारण सृजित विषम परिस्थितिमा करदाताले बुझाउनु पर्ने कर सहज रुपमा बुझ्ने व्यवस्था गर्न २०७७ जेठ ३२ सम्म तोकिएकाले सो मितिसम्म शनिबार लगायत जुनसुकै सार्वनजिक बिदामा समेत राजस्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण राजस्व संकलन शाखा एवम् बैंकको क्लियरिङ गर्ने काउन्टर, तथा नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउनू,’ सूचनामा भनिएको छ ।
