अब लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने

काठमाडौं । अब लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भएको छ । सर्वोच्च अदालतले सरकारले असार ७ गते भित्र कर तिर्न दिएको समयसीमा खारेज गर्दै लकडाउन खुलेको दिनदेखि ३० दिनभित्र कर तिर्न पाउने व्यवस्था गरेको हो ।

 

सरकारले कर तिर्ने सम्बन्धी जारी गरेको सूचना खारेज गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा बुधबार न्यायाधीशद्धय अनिल सिन्हा र मनोज शर्माको इजलासले सरकारलाई यस्तो व्यवस्था कार्यान्वयनगर्न अन्तरिम आदेश दिएको हो ।

 

बुधबार भएको सुनुवाईको विवरण सार्वजनिक गर्दै सर्वोच्चले लकडाउन खुलेको ३० दिनसम्म कर तिर्न पाउने व्यवस्था गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

 

सर्वोच्चले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको मानि त्यसको ३० दिनभित्र कर तिरिसक्नु पर्ने भनेको छ । ‘लकडाउन खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

 

सरकारले जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । यस आधारमा अब करदाताले असार १ गतेदेखि ३० दिनभित्र कर बुझाउनु पर्ने हुन्छ । यद्यपि सरकारले अहिल्यै लकडाउन हटाउने/नहटाउने बारेमा केही जानकारी दिएको छैन । यदि लकडाउन लम्बिएमा त्यो खुलेको दिनदेखि मात्र दिनगन्ती सुरुहुनेछ ।

 

अधिवक्ता सृजना अधिकारीसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले असार ७ गतेसम्म कर तिर्नु भन्दै दिएको समयसीमा कार्यान्वयन नर्गन सरकारलाई आदेश दिएको हो ।

 

सरकारले जेठ २० गते सूचना जारी गरी जेठ २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने कर बुझाइसक्न करदातालाई भनेको थियो। त्यसको चौतर्फी विरोध भएपछि सो म्याद बढाएर असार ७ गतेसम्म पुर्‍याइएको थियो।

विश्व बैंकद्वारा नेपालका लागि ५४ अर्ब ऋण स्वीकृत, सडक पूर्वाधारको विकासमा खर्च गरिने Read Previous

विश्व बैंकद्वारा नेपालका लागि ५४ अर्ब ऋण स्वीकृत, सडक पूर्वाधारको विकासमा खर्च गरिने

टर्कीले पनि शुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान, विमानस्थल प्रवेश गर्न कडा नियम पालना गर्नुपर्ने Read Next

टर्कीले पनि शुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान, विमानस्थल प्रवेश गर्न कडा नियम पालना गर्नुपर्ने