काठमाडौं । चालू आर्थिक वर्षको एघार महिनामा ३० प्रतिशत पूँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २८ गतेसम्मको तथ्यांकनुसार पूँजीगत खर्चमा कुल अनुमानित खर्चको ३०.२८ प्रतिशत खर्च भएको देखिएको छ ।
सरकारले चालू आर्थिक वर्षमा विकासनिर्माणका लागि पूँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ करोडको बजेट छुट्याएका हालसम्म १ खर्ब २३ अर्ब ५ करोड ५ लाख खर्च भएको देखिन्छ ।
चालूखर्च (तलबभत्ता आदि) भने ६७ प्रतिशत भएको छ । चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य लिइएकामा बुधबारसम्म ६८.७५ प्रतिशत अर्थात् ६ खर्ब ४२ अर्ब ९४ करोड १ लाख खर्च भएको मनिकाको तथ्याङ्कले देखाएको छ ।
१ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख वित्तीय व्यवस्था (सार्वजनिक संस्थानमार्फत पूँजी निर्माणमा हुने खर्चका लागि दिइने बजेट) तर्फ खर्च गर्ने लक्ष्य लिइएकामा हालसम्म ८३ अर्ब ८६ करोड ८३ लाख अर्थात् ४९.९६ प्रतिशत खर्च भएको छ ।
चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख कुल बजेट छुट्टाएकामा ११महिनाका अवधिमा चालू, पूँजीगत र वित्तीय व्यवस्थापन गरी ८ खर्ब ४९ अर्ब ८५ करोड ८९ लाख खर्च भएको छ । यो कुल बजेटको ५६.६१ प्रतिशत मात्र हो ।
गत माघ अन्तिम साता चालू आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री डा.युवराज खतिवडाले संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा ल्याएका थिए । सो समीक्षामा कुल बजेटको ९०.४ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।
राजश्व संकलन ५७ प्रतिशत
चालू आर्थिक वर्षमा सरकारको राजश्व सङ्कलनको अवस्था ५० प्रतिशत नाघेको छ । एघार महिनाका अधिमा लक्ष्यको ५७.४३ प्रतिशत आम्दानी भएको मनिकाले देखाएको छ । ११ खर्ब १२ अर्ब ३३ करोड रुपैयाँको वार्षिक लक्ष्यमा हालसम्म ६ खर्ब ३८ अर्ब ६१ करोड ३२ लाख राजश्व संकलन भएको छ ।
यसैगरी कर आम्दानीतर्फ ५७.५६ प्रतिशत उपलब्धि भएको छ । १० खर्ब ९ अर्ब १६ करोड १८ लाख लक्ष्य रहेकामा ५ खर्ब ८० अर्ब ८८ करोड ६३ लाख आम्दानी भएको छ । यस्तै गैरकर आम्दानी भने ५६ दशमलव १२ प्रतिशत भएको छ ।