काठमाडौं । ट्राभल एजेन्सीहरुले चार्टर्ड उडानमार्फत विदेश गएका नेपाली नागरिकसँग अस्वभाविक रुपमा रकम असुली गरेको पाइएको छ ।
ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविक रुपमा बढी रकम लिई हङकङ र जापान चार्टर गरेको गुनासो आएको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।
नेपालमा रहेका विदेशी तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुहरुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट बढी रकम लिई टिकट बिक्री गरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा बढी मूल्यमा टिकट बिक्री गर्ने चार्टर पार्टी एवं ट्राभल एजेन्सीले भाडा लिइएको सत्यतथ्य छानबिन गरिने भएको छ ।
मन्त्रालयले सात दिन भित्र प्रतिवेदन पेश गर्नेगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजक छानबिन समिति गठन गरेको छ ।
साथै,आगामी दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि चार्टर गर्न लागिएको हो उक्त मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्वीकृति हुनुपर्ने भएको छ ।
यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको छ ।