काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बिभिन्न व्यवसायीक घरानासँग आफ्नो नाम जोडिएको भनेर गुनासो गरेका छन् । आज संसदमा आर्थिक विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री खतिवडाले आफ्नो चरित्रमा औंला उठाएर काम गर्न अप्ठ्यारो पारेको भनेर गुनासो गरेका हुन् । उनले यस्ता विषयले भोलिका दिनमा आउने अर्थमन्त्रीलाई पनि स्वतन्त्र भएर काम गर्न कठिन हुने बताए ।
आगामी वर्षको बजेट वक्तव्यमा बिजुली गाडीको आयातमा व्यापक रुपमा बढाइएको र चकलेटमा घटाइएको कर निकै विवादास्पद बनेका छन् । संसदमा उठेका धेरै प्रश्नहरुलाई सरकारले गम्भिर रुपमा लिएको र सहि तरिकाले काम गर्दै आएको उनले दाबी गरे ।
यस वर्ष सर्वाधिक चर्चा र चासोको विषय बनेको बिजुली गाडीमा बढाइएको करका दरका विषयमा मन्त्री खतिवडाले आवश्यकता अनुसार पुनरावलोकन हुनसक्ने बताएका छन् ।
‘कोभिड १९ को महामारीको कारण परेको आर्थिक चापका कारण कर बढि उठाउन पर्ने भएकाले यो व्यवस्था गरिएको हो । यो भविष्यमा पुनरावलोकन गर्न सकिन्छ, छलफल गर्न सकिन्छ’, मन्त्री खतिवडाले भने ।
मन्त्री खडिवडाले संसदमा बोल्दै ‘फोसिल’ उर्जाको ठाउँमा नविकरणीय उर्जाको प्रयोग बढाउने सन्दर्भमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘हामीले कार्बनको प्रयोग घटाउने र नपवकरणीय उर्जाको प्रयोग बढाउनुको विकल्प छैन’, मन्त्री खतिवडाले भने ।
साथै मन्त्री खतिवडाले नेपालमा मात्र बिजुली गाडीमा यस्तो कर नबढाएको भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन् । उच्च अन्तशुल्क भएका मुलुकहरुको उदाहरण दिदैं उनले श्रीलङका, पाकिस्तान र भारतको पनि बिजुली गाडीमा अन्तशुल्क कर लाग्ने बताए ।
चकलेटमा आफुले मात्र कर नघटाएको र अघिल्ला आर्थिक वर्षहरुकै अवस्थामा चकलेटको करलाई पुर्याइएको उनले बताए । साथै, किताब व्यापारीहरुले किताबको आयात गरेर करोडौं कमाएको तर कर नतिरेका कारण किताबमा कर बढाइएको उनले स्पष्टिकरण दिए ।