काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७९ जनामा कोरोना देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २५७ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण देखिएको हो।
अहिलेसम्म नेपालका ७७ मध्ये ७२ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ६७४ जना कोरोना संक्रमित निको भइसकेका छन् भने १५ जनाको मृत्यु भएको छ ।