काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत चकलेटमा सामान्य मात्रमा करको दर परिमार्जन गर्नु कुनै आपत्तिको विषय नभएको बताएका छन् ।
संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक बारे उठेका प्रश्नको जवाफ दिँदै उनले चकलेट स्वास्थ्यमा हानि नपुर्याउने खाद्य वस्तु भएकाले गत वर्ष लगाइएको कर अलि बढी भएकाले यस वर्ष सामान्य परिमार्जन मात्र गरिएको बताए ।
‘२०७१/७२ देखि २०७४/७५ सम्म ३० प्रतिशत कर थियो । गत वर्ष १० प्रतिशत बढाइएको थियो, ’ उनले भने, ‘यस वर्ष करको दरलाई पुरानै दरमा ल्याइएको हो, यसमा आपत्ति जनाउने पर्ने कुरै छैन ।’
उनले अहिले पनि चकलेटमा भ्याट, अन्तःशुल्क र भन्सार गरी ५४ प्रतिशत कर लाग्ने बताए । उनले सरकारले बजेटमार्फत १ दर्जन वस्तुको अन्तःशुल्क समेत घटाएको बताए ।
उनले सरकार वा मन्त्रीहरुलाई व्यापारीक घरानासँग जोडेर हेर्ने प्रवृत्तिले व्यक्तिको निष्ठामा नै आँच पुग्ने भएकाले त्यसप्रति सबैले ख्याल गर्न आग्रह गरे ।