सरकारको बेवास्ताले म्याग्दीको धारापानी तामाखानी वर्षौंदेखि अलपत्र

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीस्थित तीनवटा तामाखानी संरक्षण र उत्खननको पखाईमा छन् ।

 

धारापानी गाउँको शिरमा अवस्थित डुङडुगे, मसिनखानी, तोपाखानीमा रहेका तामाखानी वर्षौंदेखि अलपत्र अवस्थामा रहेका हुन् । खानी उत्खनन गर्ने यन्त्र उपकरणको अभाव र सम्बन्धित निकायको बेवास्ताका कारण प्रयोगविहीन अवस्थामा रहेको स्थानीयवासी तेजेन्द्र थापाले बताए ।

 

धारापानीबाट करिब आधा घण्टाको पैदलयात्रामा पुगिने उक्त स्थानमा पुरानो खानी जाने बाटो पुरिएको छ भने दुई खानीमा सहजै पुग्न सकिन्छ । पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुङ्गा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेको स्थानीयवासी किरण थापाले बताए। तत्कालीन अवस्थामा छिना, गल, घन, कुटो र कोदालोको प्रयोग गरेर खानी उत्खनन गर्ने चलन रहेको थियो ।

 

खानीहरूको सम्भाव्यता अध्ययन गर्न सम्बन्धित निकायले चासो देखाएका छैन् । धारापानी, मच्छिमलगायत आसपासका खानीहरु लामो समयसम्म सञ्चालन भए पनि तत्कालीन सरकारले खानी उत्खनन गरेबापत लिने कर तिर्न नसकेपछि खानी उत्खनन कार्य बन्द भएको स्थानीय बूढापाकाको भनाइ छ ।

 

खानी उत्खनन गर्न तयार गरिएको लामो सुरुङभित्र बस्ने ठाउँ छ भने बाहिरै प्रशोधनपछि काम नलाग्ने भएर फालिएका धातुका टुक्रा यत्रतत्र छरिएर रहेको देखिन्छ । जिल्लाको बेनी नगरपालिकासहित पाँचवटै स्थानीय तहमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिएका छन् । खानी सञ्चालनमा स्थानीय सरकारसँग समेत कुनै योजना छैन ।रासस

दक्षिण कोरियासँग सबै सञ्चार सम्पर्क बन्द गरेको उत्तर कोरियाको घोषणा Read Previous

दक्षिण कोरियासँग सबै सञ्चार सम्पर्क बन्द गरेको उत्तर कोरियाको घोषणा

नगरपालिका फोरम भन्छ : उपत्यका विकास प्राधिकरण खारेज गरौं Read Next

नगरपालिका फोरम भन्छ : उपत्यका विकास प्राधिकरण खारेज गरौं