काठमाडौं । विश्व बैंकले कोरोना भाइरसको महामारीकै कारण विश्वको अर्थतन्त्रमा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आर्थिक मन्दी आउन सक्ने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले ग्लोबल इकोनोमिक प्रोस्पेक्टस रिपोर्ट सार्वजनिक गर्दै कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा भारी संकुचन आउने बताएको हो ।
विश्वको उक्त रिर्पोट अनुसार सन् २०२० मा विश्व अर्थतन्त्रमा ५.२ प्रतिशतको गिरावट आउन सक्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसारविकसित देशहरुको अर्थव्यवस्थामा ७ प्रतिशतले गिरावट आउने तथा विकासशील देशहरुको अर्थतन्त्रमा २.५ प्रतिशत गिरावट आउन सक्ने अनुमान गरिएको छ । यो जुन सन् १९६० यताकै सबैभन्दा खराब तथ्यांक हो।
यस्तै, यूरो जोनमा ९.१ प्रतिशतले संकुचन आउने अनुमान गरिएको छ। विश्व बैंकले चीनको अर्थतन्त्र १ प्रतिशतले वृद्धि हुने अनुमान गरेको जुन सन् १९७६ यताको सबैभन्दा न्यून दर हो। यसैगरी अमेरिकाको जिडिपी खुम्चिएर ६.१ प्रतिशत तथा भारतको ३.२ प्रतिशतमा रहने अनुमान गरेको छ।
विश्व बैंकले अनुमान गरेको विश्व अर्थतन्त्रको संकुचन विगत १५० वर्ष यताकै चौथो गहिरो मन्दी हुने पनि अनुमान गरिएको छ। विश्व अर्थव्यवस्थामा सन् १८७० पछि अहिलेसम्म कुल १४ पटक मन्दी देखिएको छ।
अर्थव्यवस्थामा आउने मन्दीका कारण विश्वका करोडौं मानिस गरिबीको चपेटामा पर्ने समेत विश्व बैंकले जनाएको छ । प्रतिवेदन अनुसार ९० प्रतिशतभन्दा धेरै देशहरुको प्रतिव्यक्ति आयमा संकुचन आउने बताइएको छ। यसले विश्वका ७ करोड देखि १० करोड मानिस चरम गरिबीमा जाने विश्व बैंकले जनाएको छ ।