काठमाडौं । सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका तत्काल उद्धार गर्नुपर्ने व्यक्तिको संख्या सार्वजनिक गरेको छ ।
सरकारले तत्काल २४ हजार १४८ जना नागरिकलाई उद्धार गर्ने भएको छ । यसका लागि परराष्ट्र मन्त्रालयले सोमबार कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सो सूची पठाएको छ ।
३० देशमा रहेका तत्काल अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न पहिलो चरणमा सो सूची सार्वजनिक गरिएको हो ।
सबैभन्दा बढी मलेसियाबाट ६ हजार जनालाई उद्धार गर्न लागिएको छ । सबैभन्दा कम लाओसाबाट २ जनालाई उद्धार गरिन लागेको छ।
सूचीमा उल्लेख भए अनुसार अमेरिका, ब्रिटिश टेरिटोरी, बेलायत, क्यानडा, साउदी अरब, अष्ट्रेलिया, यूएई, बहराइन, इजरायल, युगाण्डा, नाइजेरिया, दक्षिण सुडान, सुडान, कतार, मोरक्को, कतार, मलेसिया, थाइल्याण्ड, सिंगापुर लगायतका देशहरुबाट अलपत्र परेका नागरिक फिर्ता ल्याउने तयारी भएको छ ।
कम्बोडिया, भियतनाम, लाओस, जापान, कोरिया, बंगलादेश, श्रलंका, पाकिस्तान, डनमार्क, ओमन, साइप्रस, कुबेत, माल्दिभ्सबाट अलपत्र नागरिक ल्याउन सूची सार्वजनिक भएको हो ।
कुन देशबाट कति मानिसको उद्धार गरिँदै छ ?
सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो चरणमा अमेरिकाबाट ६४६ जना, बेलायतबाट ४९ जना, क्यानडाबाट ७८ जनालाई उद्धार गरिने भएको छ ।
यस्तै, साउदी अरबबाट ३ हजार ३१२ जनालाई उद्धार गर्ने भएको छ । जसमा राजदूतावास रियादबाट २ हजार १५२ र महावाणिज्यदूतावास जेद्दाबाट १ हजार १६० जनालाई उद्धार गर्न लागिएको छ ।
यस्तै, यूएईबाट ४१० जना, बहराइनबाट ३७२ जना, इजरायलबाट ३९, युगाण्डाबाट १६१, नाइजेरियाबाट ९७, दक्षिण सुडानबाट १८, सुडानबाट ३१, मोरक्कोबाट ६३, कतारबाट ३ हजार ६०८, मलेसियाबाट ६ हजार ४२५, थाइल्याण्डबाट ३५७, सिंगापुरबाट ६१, कम्बोडियाबाट ४१, भियतनामबाट ४ र लाओसबाट २ जनालाई उद्धार गर्ने भएको छ ।
यस्तै जापानबाट ९१६, कोरियाबाट २८२, बंगलादेशबाट १८०, श्रीलंकाबाट ३६, पाकिस्तानबाट १२५, डेनमार्कबाट ७६, ओमनबाट ६५६, साइप्रसबाट ४७१, कुबेतबाट २ हजार ९९१, माल्दिभ्सबाट ७२४ र अष्ट्रेलियाबाट १ हजार ३०० सय जनालाई उद्धार गर्ने तयारी गरिएको छ ।