लकडाउनले बैंकमै थुप्रियो पैसा, १ खर्ब २७ अर्ब निक्षेप संकलन हुँदा ११ अर्बमात्रै ऋण लगानी

काठमाडौं । लकडाउनको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा देखिएको छ । लकडाउनको अवधि साढे २ महिनामा निक्षेप संकलनमा खासै असर नपरे पनि कर्जा प्रवाहमा ठूलो असर परेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार लकडाउन शुरु भएदेखि यता जेठ २४ गतेसम्मको अवधिमा बैंक तथा वित्तीय बैंकिङ प्रणालीमा करिब सवा १ खर्ब निक्षेप संकलन भएको छ ।

 

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लकडाउन शुरु भएदेखि २४ जेठसम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

राष्ट्र बैंकका अनुसार चैत दोस्रो सातासम्म बैंक तथा वित्तीय  संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २४ जेठसम्म आइपुग्दा यो १ खर्ब २७ अर्बले बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

 

लकडाउनमा निक्षेप संकलन बढे पनि कर्जा लगानी भने ह्वात्तै घटेको छ । करिब २ महिनाभन्दा लामो समयमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

 

११ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको ३२ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए भने जेठ २४ सम्म बढेर ३२ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

 

लकडाउनमा सबै आर्थिक क्रियाकलाप ठप्प भएकाले बैंकहरुमा कर्जा लगानी ह्वात्तै घटेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय बैंकमा कर्जा लिन आउनेको संख्या अत्यन्तै न्यून रहेको बताइएको छ ।

अढाई महिनादेखि थन्किएका सार्वजनिक यातायात सञ्चालन गर्न छलफल शुरु Read Previous

अढाई महिनादेखि थन्किएका सार्वजनिक यातायात सञ्चालन गर्न छलफल शुरु

थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो Read Next

थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो