तेस्रो पटक अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अस्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ ।

 

निगमको वाइड बडी ए३३० जहाजले अस्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः५५ बजेका लागि काठमाडौं -क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए।

 

नेपालस्थित अस्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ ।

 

नेपालमा लकडाउनका कारण रोकिएका अस्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पीआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर्ड गरी लैजान लागेको हो ।

 

यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अस्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो ।

 

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अस्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन ।

न्युजिल्याण्डले कोरोनाका बीरामी शून्यमा झार्‍यो, सीमानाका भने तत्काल नखोलिने Read Previous

न्युजिल्याण्डले कोरोनाका बीरामी शून्यमा झार्‍यो, सीमानाका भने तत्काल नखोलिने

रोग प्रतिरोधी क्षमता बढाउने गुर्जोको जुसर र ट्याबलेट बजारमा Read Next

रोग प्रतिरोधी क्षमता बढाउने गुर्जोको जुसर र ट्याबलेट बजारमा