न्युजिल्याण्डले कोरोनाका बीरामी शून्यमा झार्‍यो, सीमानाका भने तत्काल नखोलिने

काठमाडौं । करिब ५० लाख जनसंख्या भएको न्युजिल्याण्डमा कोरोना भाइरसका बिरामीको संख्या शून्यमा झरेको छ ।

 

न्युजिल्याण्डमा मे २२ यता कुनै पनि नयाँ संक्रमित भेटिएका छैनन् भने आइसोलेसनमा रहेका अन्तिम एकजना बिरामी पनि सोमबार निको भएका छन् ।

 

न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डा. अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै यो न्युजिल्याण्डको लागि निकै खुसीको खबर रहेको बताएका छन् । न्युजिल्याण्डमा पछिल्लो २ सातादेखि अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् ।

 

न्युजिल्याण्डमा १ हजार ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो ।

 

न्युजिल्याण्डले मुलुकमा कोरोना भाइरसका संक्रमित संख्या ३० पुग्दा मार्च १९ मा कडा लकडाउनको घोषणा गरेको थियो । ५ सातासम्म न्युजिल्याण्डमा लकडाउन कडाइको साथमा पालना गराइएको थियो । त्यसपछि विस्तारै खुकुलो बनाइएको थियो ।

 

अन्ततः अप्रिलको अन्तिममा न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण लगभग शून्यमा झरेको थियो । यससँगै न्युजिल्याण्डले प्रतिबन्ध हटाएको थियो ।

 

न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण शून्यमा झरेको भए पनि प्रधानमन्त्री ज्यासिन्डा अर्डनले अहिले नै तत्काल सीमानाका भने नखोलिने बताएकी छिन् ।

 

यद्यपि बाँकी सबै प्रतिबन्ध पनि खुला गरिएको छ । देशभित्रका सम्पूर्ण आर्थिक गतिविधि नियमित रुपमै सञ्चालनमा आइसकेका छन् । होटल, रेष्टुरेन्ट, पार्क लगायत स्थानहरु खुला गरिसकिएको छ ।

-एजेन्सी

थप १ महिना तेलको उत्पादन कटौती गर्न ओपेकप्लस सहमत, बजार मूल्यमा कस्तो पर्ला प्रभाव Read Previous

थप १ महिना तेलको उत्पादन कटौती गर्न ओपेकप्लस सहमत, बजार मूल्यमा कस्तो पर्ला प्रभाव

तेस्रो पटक अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स Read Next

तेस्रो पटक अस्ट्रेलिया उड्दै नेपाल एयरलाइन्स