सांसदहरुको प्रश्न : मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

काठमाडौं । झण्डै तीन दशकदेखि चर्चाको शिखरमा रहेको मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न होला ? यो सरकार, सांसद मात्रै होइन, राजधानी र मुलुकवासीका लागि सधैं चासोको विषय बनेको छ ।

 

झण्डै ९० प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको परियोेजनामा समेत समावेश गरेको छ ।
खानेपानी मन्त्रालयले चालू आवको अन्त्यसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । कोरोना कहरका कारण मन्त्रालयको लक्ष्यानुसार काम हुन सकेन ।

 

बन्दाबन्दी जारी रहेका बेलामा समेत आयोजनामा काम भइरहेको छ । मन्त्रालयका अनुसार आयोजनाको निर्माण जारी छ । आगामी असोज महिनाभित्र सम्पन्न हुने मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ ।सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो आयोजना सम्पन्न हुने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

 

पछिल्लो पटक सरकारले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई सो आयोजनाको जिम्मा दिएको छ । लकडाउनका कारण श्रमिकको अभाव खेपिएको भए पनि आयोजनाको काम भने भइरहेको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा समेत सो आयोजनाको विषयले प्रमुख प्राथमिकता पायो । विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न हुन्छ भन्ने जिज्ञासा मात्रै राखेनन्, त्यसको महत्वका बारेमा समेत सरकारलाई पुनः ध्यानाकर्षण गराए ।

 

सांसद एकवाल मियाँले आयोजनाको चर्चा चलेको लामै समय भए पनि काम कहिले सकिन्छ भनेर चासो राख्दै आएका नेपाली नागरिक सधैँ निराश हुने अवस्था आएको गुनासो गरे । उनले भने ‘आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ? अब त काठमाडौं बासीलाई स्पष्ट भनिदिनुस् ।’

 

पछिल्लो पटक आगामी असोजभित्र आयोजना सम्पन्न हुने भनिए पनि सो समयमा काम सकिएला वा नसकिएला भन्ने विषयमा समेत थप प्रष्टता जरुरी रहेको उनको भनाइ थियो ।

 

सांसद प्रदीप यादवले पनि सो आयोजनाका बारेमा जिज्ञासा राखे । हरेक वर्षको बजेट आउँदा आयोजना आगामी आवमा सकिने भनेर लेखिने भए पनि कुन आवमा चाहिँ सकिने हो प्रष्ट हुनुपर्ने सांसद यादवको भनाइ छ ।

 

सांसद हीरा गुरुङले आगामी आवको बजेटमा सो आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने भन्ने विषय समावेश गरेर नेपाली जनतालाई ढाँटिएको भन्दै आपत्ति जनाए।

 

विश्व वातावरण दिवस र सरकारको उपहार Read Previous

विश्व वातावरण दिवस र सरकारको उपहार

थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ सय पुग्यो Read Next

थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ सय पुग्यो