चालू आर्थिक वर्षमा १५० पुल निर्माण सम्पन्न, २५० वटाको धमाधम काम हुँदै

काठमाडौं । चालू आर्थिक वर्षमा हालसम्म १५० वटा सडक पुल निर्माण सम्पन्न भएको छ । सडक विभागले चालू आवमा ३०० वटा सडक पुल निर्माण गर्ने लक्ष्य राखेको थियो ।

 

हालसम्म १५० पुल सम्पन्न भएको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । अहिले देशभरमा २५० स्थानमा निर्माणको काम भइरहेको विभागले जनाएको छ ।

 

हालसम्म विभिन्न जिल्लामा ९९ एलआसर एन पुल र ४९ वटा एसआरएन डिजाइनका पुलहरु निर्माणको महाशाखाका प्रमुख दिपक भट्टराईले जानकारी दिए ।

 

उनका अनुसार चालू लकडाउनका अवधिमा ८ पुल निर्माण सम्पन्न भएको छ । सडक विभाग अन्तर्गत पुल महाशाखाले जानकारी दिए अनुसार पाँचथरमा २, कन्चनपुर २, दोलखा १ र गुल्मीको ३ गरी ८ वटा एनओएस पुल निर्माण सम्पन्न भएको हो ।

 

उनले अझै काम भइरहेकाले असार मसान्तसम्ममा थप पुल निर्माण सम्पन्न हुने सम्भावना रहेको बताए ।चालूआर्थिक वर्षमा कोरोना तथा लकडाउनका कारण निर्माणले गति लिन नसकेकाले लक्ष्य प्राप्त गर्नन सकिएको उनले बताए ।

 

‘हामी एकदम आवश्यक पर्ने ठाउँमा असार अगाडि नै पुल निर्माण सम्पन्न गर्न खोजिरहेको छौँ, ठाउँ–ठाउँमा काम भइरहेको छ,’ प्रमुख भट्टराईले चाणक्य पोष्टसँग भने ।

 

गत आर्थिक वर्षमा देशभर २४३ सडक पुल निर्माण सम्पन्न गरेको थियो । सो प्रगतिलाई मध्येनजर गर्दै चालू आर्थिक वर्षमा ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । जुन लक्ष्य पूरा हुन सकेन । चालू आवमा सरकारले पुल निर्माणका लागि २ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले २ वर्षभित्र तुइन, फड्के र अस्थायी साँघु जस्ता पुल विस्थापन गर्ने निर्णण गरेको थियो ।

 

विगतका वर्षहरुमा वार्षिक १०० का हाराहारीमा पुल निर्माण हुने गरेको थियो । गत आर्थिक वर्षमा गति लिन सफल पुल निर्माणले फेरि चालू आर्थिक वर्षमा गति लिन नसकेको हो । आगामी आर्थिक वर्षमा समेत ३०० हाराहारीमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख भट्टराईले बताए ।

 

विभागका अनुसार अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढिरहेको छ । त्रिभुवन राजपथको हेटौंडा-भैसे-लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली-मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की-अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ-जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ ।

 

दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर-इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ । विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ ।

लकडाउनको बेला उद्योगमा पौने ३ अर्ब लगानी Read Previous

लकडाउनको बेला उद्योगमा पौने ३ अर्ब लगानी

अब फेसबुकमा अपलोड गरिएको फोटो गुगल फोटोमा सङ्ग्रह गर्न मिल्ने Read Next

अब फेसबुकमा अपलोड गरिएको फोटो गुगल फोटोमा सङ्ग्रह गर्न मिल्ने