काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरसको महामारीबाट बच्न निर्देशिका बनाएको छ ।
महामारीका बीच संक्रमणबाट जोगिन जहाज उडान, ग्राउन्डिङ र सञ्चालनको लागि निर्देशिका बनाइएको प्राधिकरणले जनाएको छ ।
कुनै पनि उडान गर्दा यात्रु, एअरलाइन्स कम्पनी, विमानस्थल लगायतका पक्षले निर्देशिका पूर्णरुपमा पालना गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।निर्देशिका अनुसार ज्वरो आएका, रुघाखोकी लागेका र स्वाद र गन्ध थाहा नपाउने यात्रुले जहाजमा यात्रा गर्न पाउने छैनन् ।
यस्तै विमानस्थल प्रवेश गर्ने सबैको गेटमै तापक्रम जाँच हुनेछ । मास्क नलगाएका व्यक्ति विमानस्थलमा प्रवेश नै गर्न पाउनेछैनन् । शरिरको तापक्रम ३८ डिग्री सेल्सियस वा १००.४फरेनहाइटभन्दा कम हुनुपर्नेछ । विमानस्थलमा भीडभाड गर्न पाइनेछैन ।
यस्तै जहाजमा पत्रिका र म्यागेजिन बोक्न प्रतिबन्ध लगाइएको छ । आन्तरिक उडानमा जहाजले खाजा या अन्य खानेकुरा दिन पाउनेछैनन । ७० वर्ष नाघेका, गर्भवती र गम्भीर बिरामीलाई यात्रा नगर्न सुझाव दिइएको छ । कुकुर, बिरालो लगायतका जनावरलाई जहाजबाट यात्रा गराउन पाइनेछैन ।
हरेक उडानअघि जहाजलाई डिसइन्फेक्सन गर्नुपर्नेछ । भौतिक दूरी कायम राख्नुपर्नेछ, सबै कर्मचारीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । विभिन्न स्थानमा स्नानिटाइटर, धारा र साबुन उपलब्ध हुनेछ ।