काठमाडौं । चालू आर्थिक वर्षभित्रै जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल गुडाउने योजना रहेको थियो । तर, लकडाउनका कारण बाँकी काम सम्पन्न हुन नसक्दा चालू आर्थिक वर्षमा त्यो पूरा नहुने भएको छ ।
रेल विभागले लकडाउनका कारण कर्मचारी परिचालन, ह्याण्डरओभर र टेकओभरका कामहरु अझै बाँकी रहेको बताएको छ । विभागका महानिर्देशक बलराम मिश्रले चालू आर्थिक वर्षभित्र जयनगर-जनकपुर रेल सञ्चालन सम्भव नभएको बताए ।
‘कर्मचारी परिचालन भएको छैन, भारतबाट रेल ल्याउने भएकाले ह्याण्डओभरको काम भएको छैन्, लकडाउन नखुलेसम्म अलि सम्भव छैन,’ मिश्रले चाणक्य पोष्टसँग भने ।
उनले ट्रेन पटनामा ल्याएर राखिएको बताए । ट्रेन भारतले हस्तान्त्रण गरेपछि मात्र रेल सञ्चालन सुरु गरिने छ । त्यस अघि विभागले रेलका लागि केही भारतीय कर्मचारी र नेपाली कर्मचारी परिचालन गर्नुपर्ने हुन्छ । त्यसका लागि हालसम्म आवेदन समेत खुल्ला गर्न सकिएको छैन ।
नेपालमा रेल गुडाउन आवश्यक दक्ष जनशक्तिको भने अभाव रहेको छ । दक्ष जनशक्ति नहुँदा भारतबाटै कामदार ल्याएर रेल गुडाउनु पर्ने छ । लकडाउनका समयमा भारतबाट दक्ष जनशक्ति ल्याउन र कर्मचारी परिचालन सम्भव नभएको हुन बताए ।
‘यही जेठ १५ सम्म सञ्चालन गर्ने लक्ष्य थियो, कोरोना र लकडाउन भनेर रोकियो, असार मसान्तसम्म चलाउने भनेका छौं, तर त्यो पनि सम्भव होला जस्तो छैन,’ प्रमुख मिश्राले भने । उनले लकडाउन खुलेको १ देखि २ महिना भित्र रेल सञ्चालनमा ल्याउन सकिने बताए ।
भारत सीमावर्ती रेलमार्ग अन्तर्गत जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल सञ्चालनका डिब्बा बनाउन भारतले जिम्मा लिएको थियो । भारतको कोङकन रेलवे कर्पाेरेसनले रेल डिब्बा बनाउने ठेक्का लिएको हो ।
कम्पनीले डिसेम्बर अन्तिमसम्ममा डिब्बा बुझाउने योजना रहे पनि कोरोना संक्रमण तथा लकडाउनका कारण नेपाल ल्याउन सकिएको छैन । सो रेलमार्गका लागि २ सेट डब्बा खरिद गरिनेछ । एउटा ‘ट्रेन सेट’मा ५ वटा डब्बा हुन्छ । यो रेलमा एक पटकमा १२ सय यात्रुले सेवा लिन सक्नेछन् ।जसमध्य प्रथम सेट भारतले डिसेम्बर अन्तिमसम्ममा उपलब्ध गराउने र अर्को सेट त्यसपछि उपलब्ध गराइने सम्झौता भएको थियो ।
३४ किलोमिटर सो खण्ड भारत सरकारले आफ्नो लगानीमा बनाउन लागेको हो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारतले त्यसमा रेल ल्याउने शर्तसहित सो खण्डमा रेल ल्याउने तयारी भएको हो ।