अर्थमन्त्री खतिवडाले मलाई एकाएक यसरी बनाए हुनेखाने !

म हाल पेट्रोलबाट चल्ने स्कुटर चढ्छु । मैले सोचेको थिएँ आगामी वर्ष म सँग मेरो जीवनको पहिलो कार हुनेछ र त्यो कार बिजुलीबाट चल्ने कार हुनेछ । हालै अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेट अघि म नेपालमा विक्री वितरण भइरहेका विभिन्न गाडीहरु इन्टरनेटमा खोजिबस्थें । ती गाडीहरुको मूल्य, माइलेज इत्यादि मेरो चासोका विषय हुन्थे ।

 

घरमा गाडी पार्क गर्नका लागि थोरै ठाउँ खाली गर्ने योजना पनि बनाइसकेको थिएँ । चार्जिङ प्लग कता बनाउने होला भनेर म र मेरी श्रीमतीले एकाध पटक कुरा पनि गरेका थियौं । त्यो सानो खाली ठाउँमा सानो र चिटिक्क परेको बिजुली गाडी पार्क गरेको कल्पना गरेर म रोमाञ्चित हुन्थे ।

 

दाँजेर हेर्दा मलाई कतिपय बिजुली गाडीहरुको मूल्य अन्य कारहरुको दाँजोमा सस्तो लाग्थ्यो । खासमा मूल्य केही बढी नै भए पनि बैंकमा गाडीको कुल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट मात्र गरे हुने भएकाले मलाई सस्तो लागेको हुनसक्छ । अन्य पेट्रोल गाडीमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्दछ ।

 

अर्थमन्त्री युवराज खतिवडाले मलाई हालैको बजेट मार्फत हुनेखाने वर्गमा पुर्याइदिएका छन् । अहिले म एक्कासी हुनेखाने भएको छु । म जस्ता हुनेखाने लाई बिजुली गाडीमा उच्च कर असुलेर उनी देशका हुँदाखानेको हितको लागि उनी काम गर्छन् रे ।

 

अनि बिजुली गाडीको सञ्चालन खर्च अन्य गाडीहरुको तुलनामा धेरै कम हुन आउँछ भन्नेमा त म प्रष्ट नै थिएँ । पेट्रोल गाडीको प्रति किलोमीटर सञ्चालन खर्च करिब १० रुपैयाँ हुन आउँछ भने बिजुली गाडी प्रति किलोमिटर लगभग १ रुपैयाँमै गुड्छ । बिजुली गाडीको प्रविधि आधुनिक रहेको र बनावट पनि जटिल नहुने भएका कारण मर्मत संभार खर्च पनि शून्य बराबर नै हुन्छ भन्ने मलाई थाहा थियो ।

 

मेरो एक जना मित्र भन्थे, ‘मैले ४० हजार किलोमीटर बिजुली गाडी कुदाउँदा जम्मा २५ सय रुपैयाँको खर्च आयो । यो त मोटरसाइकल चलाएको भन्दा पनि धेरै गुणा सस्तो भयो यार !’

 

पेट्रोलबाट चल्ने गाडीको तुलनामा बिजुली गाडीमा एकदमै कम संख्यामा पार्टपुर्जा हुने भएकोले पनि पार्टपुर्जा बदल्नपर्ने अवस्था नै नआउने उसको अनुभव थियो । त्यसैले उसलाई गाडी चलाउन्दा पनि बाइकभन्दा सस्तो परेको थियो ।

 

बिजुली गाडीमा ‘लुब्रिकेन्ट’ हाल्नु पर्दैन । पेट्रोल गाडीलाई प्रत्येक ५/७ हजार किलोमिटरमा ‘सर्भिसीङ्ग’ गर्नु पर्छ । अनी सर्भिसीङ्ग गर्न जादाँ कम्पनीको आधिकारीक शोरुममा पट्यार लाग्दो गरि कुरीबस्नु पर्छ । धेरै अवस्थामा त झन् केही दिन गाडी त्यहीँ छाड्नुपर्ने हुन्छ । विकल्पमा अर्को गाडी वा मोटरसाइकल नहुने म जस्ता सामान्य कामकाजी मानिसको त्यही भएर पनि बिजुली गाडी प्राथमिकतामा परेको थियो ।

 

त्यसैले सामान्य निम्न मध्यम वा मध्यम वर्ग कतै पर्ने मेरो साँघुरो सपनाको संसारमा यो गाडी छिर्न सफल भएको थियो ।

 

मेरो दुईजना स–साना सन्तान छन् । छोरो करिब ६ वर्षको छ भने छोरी भर्खर जन्मिएकी हो । मलाई अहिले यी साना बच्चाहरु लिएर स्कुटरमा हिँड्न गाह्रो छ ।

 

बच्चाहरु लिएर दुई पाङ्रेमा हिँड्दा हान्ने साँढे जस्ता अरु मोटरसाइकल वा ट्रिपरहरु देख्दा मुटु नै चिसो हुन्छ मेरो । कुहिरीमण्डल धूलो र धुँवामा मेरा बच्चाहरु निसास्सिरहेका छन् कि भनेर मलाई ऐठन हुन्छ । त्यसैले म जस्तो कामकाजी मान्छेको समेत आवश्यकतामा गाडी परेको हो ।

 

तर, अर्थमन्त्रीले हालैको बजेट मार्फत एकैपटक व्यापक कर बढाएर मेरो बिजुली गाडीको सपनामा चिसो पानी खन्याइदिएका छन् । अब मैले किन्ने योजना गरेको गाडीको मूल्य दुइगुणा बढी भयो रे ।

 

म लकडाउन पछि २०-२२ लाख पर्ने एउटा साधारण बिजुली गाडी किनेर स-परिवार चन्द्रागिरीमा केबलकार चढ्न जाने योजनामा थिएँ । मैले यो योजना श्रीमतीलाई बताएको थिएँ । केबुलकार चढ्न जाने योजना मैले एकतर्फी र बिना सल्लाह बनाएको भनेर ऊ म सँग ठुस्किएकी थिइ । केबुलकार चढ्न डराउने ऊ बिजुली गाडी चढेर नगरकोट जान चाहन्थी । अबको दशैंमा अघिल्ला वर्षहरु भन्दा सहज ढंगले माइती तथा नातागोताको घरमा टिका थाप्न जान पाइनेमा पनि उ मख्ख थिइ ।

 

अर्थमन्त्री युवराज खतिवडाले मलाई हालैको बजेट मार्फत हुनेखाने वर्गमा पुर्याइदिएका छन् । अहिले म एक्कासी हुनेखाने भएको छु । म जस्ता हुनेखानेलाई बिजुली गाडीमा उच्च कर असुलेर उनी देशका हुँदाखानेको हितका लागि उनी काम गर्छन् रे ।

 

होला त नि भनेर म अहिले आफ्ना मन्त्रीको कुरा पत्याएर बसेको छु । तर, सीमामा क्वारेन्टिनको नाममा खुल्ला आकाशको छानो र धर्तीको ओछ्यानमा लडेका सामान्य मानिसहरु देख्दा मन्त्रीले झुट बोलेका हुन् कि जस्तो लाग्छ । म उति राजनीति बुझ्ने मान्छे होइन । अर्थमन्त्री आफैं चाहिँ नियमले दिएको भन्दा निकै माथिल्लो स्तरको करिब ३ करोड रुपैयाँ पर्ने गाडी चढ्छन् रे ।

 

म यो देशका धेरै श्रमजीवी मानिसहरु जस्तै काम गर्छु । हामी यो देशका लागि पूँजी निर्माण गर्छौं । देशको ढुकुटीमा जम्मा हुने सबै पैसा हाम्रै कमाइको अंश हो । मन्त्री र प्रधानमन्त्रीहरु पूँजी निर्माण गर्दैनन् तर पनि उनीहरुको हातमा धेरै पूँजी परिचालन गर्ने अधिकार छ, जवाफदेहिता भने छैन । पूँजी निर्माण गर्ने म जस्ताको चाहिँ स-साना सपना पनि पूरा हुँदैनन् । यस्तो किन हुन्छ ? हाम्रो प्रणाली कस्तो हो ? म सामान्य मानिस हुँ । मसँग यस्तो गहन प्रश्नको उत्तर कसरी होस् ?

 

विश्वका अन्य देशहरुले पनि बिजुली गाडीलाई धेरै बढावा दिइरहेका छन् भन्ने मैले सुनेको छु । भारतले सन् २०३० बाट दिल्लीमा सम्पूर्ण सवारीसाधनहरु बिजुलीबाट चल्ने मात्र हुने भनेको छ । चीन विश्वमै धेरै बिजुली गाडी बनाउने देश हो । युरोपका धनी देशहरुको कुरै भएन । उनीहरु आफ्नो देशको पर्यावरणलाई लिएर निकै सचेत छन् । उनीहरुले बिजुली गाडी चलाउन धेरै छुटको कार्यक्रमहरु अगाडि ल्याएका छन् । कर छुट लिएका छन् । बिजुली गाडीको प्रयोगकर्तालाई विभिन्न प्रोत्साहन दिएका छन् ।

 

हाम्रो सहर काठमाडौं धेरै प्रदूषणयुक्त छ । श्वास फेर्न नै गाह्राे हुन्छ । हाम्रा सुन्दर हिमालहरु धुवाँ र धूलोले छोपिएका छन् । बिजुली गाडीहरुले पेट्रोल गाडीहरुलाइ प्रतिस्थापन गर्न पाए हाम्रो सहरको सुन्दरता पनि केही हदसम्म फर्किएर आउँथ्यो कि भन्ने मलाई लाग्छ ।

 

तर, अर्थमन्त्रीले किन यो कुरा बुझेनन् म जिल्ल परेको छु । हामी जस्ता सामान्य मानिसहरुका सपनाको ख्याल नराखे पनि आफ्नै र आफ्ना नाता कुटुम्बको पनि स्वास्थ्य प्रति उनी किन उदासीन बने ? अर्थशास्त्रको पढाइमा अंकमात्र पढाइन्छ कि ! मलाई थाहा छैन । पढेको मान्छेसँग विवेक हुन्छ भन्ने मैले सुनेको हो ।

 

नेपालमा अहिले उल्लेख्य मात्रामा बिजुली उत्पादन भइरहेको छ । यो बिजुलीको प्रयोग बढाएर पेट्रोलको आयात घटाउन सक्यो भने हाम्रो व्यापार घाटा कम हुन्छ । र, हामी विस्तारै सम्पन्न राष्ट्र बन्ने बाटोतर्फ अघि बढ्न सक्थ्यौं कि भनेर मेरो सहज बुद्धिले भन्छ । देशमा प्रबुद्ध मानिसहरु पनि यसै भन्छन् । तर, अर्थशास्त्र पढेका मन्त्रीले किन अर्कै बाटो समाते ? सायद यो विषयको पढाइ हुने दिन उनी कक्षामा गयल परे कि ! मलाइ थाहा छैन ।

 

म लकडाउन पछि २०-२२ लाख पर्ने एउटा साधारण बिजुली गाडी किनेर स-परिवार चन्द्रागिरीमा केबलकार चढ्न जाने योजनामा थिएँ । मैले यो योजना श्रीमतीलाई बताएको थिएँ । केबुलकार चढ्न जाने योजना मैले एकतर्फि र बिना सल्लाह बनाएको भनेर ऊ म सँग ठुस्किएकी थिइ । केबुलकार चढ्न डराउने ऊ बिजुली गाडी चढेर नगरकोट जान चाहन्थी । अबको दशैंमा अघिल्ला वर्षहरु भन्दा सहज ढंगले माइती तथा नातागोताको घरमा टिका थाप्न जान पाइनेमा पनि ऊ मख्ख थिइ ।

 

तर, युवराज खतिवडाको बजेटले केबुलकार, नगरकोट र दशैंको हाम्रो सपनामा चिसो पानी खन्याइदिएको छ । सपना मरे पनि म एउटा कुराले भने निकै खुसी भएको छु । म एकाएक हुनेखाने वर्गमा उक्लिएको छु ।

नेपालकै ठूलो सोलार आयोजनाबाट १.२५ मेगावाट बिजुली उत्पादन, डेढ महिनाभित्र १० मेगावाट जोडिने Read Previous

नेपालकै ठूलो सोलार आयोजनाबाट १.२५ मेगावाट बिजुली उत्पादन, डेढ महिनाभित्र १० मेगावाट जोडिने

सोमबारबाट अन्तर्राष्ट्रिय हवाइ उडान खुलाउँदै चीन Read Next

सोमबारबाट अन्तर्राष्ट्रिय हवाइ उडान खुलाउँदै चीन