नेपालकै ठूलो सोलार आयोजनाबाट १.२५ मेगावाट बिजुली उत्पादन, डेढ महिनाभित्र १० मेगावाट जोडिने

काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीमा ग्रिडमा आवद्ध सोलार आयोजनाबाट उत्पादित १.२५ मेगावाट विद्युत् थपिएको छ ।

 

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५ मेगावाट विजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

 

सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ ।

 

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।

 

ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।

 

आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

सरकारले दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजरा मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रण अनुपात लागू गरेको छ । प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेजः ३०–३५ प्रतिशत, पिकिङ रन अफ द रिभरः २५–३० प्रतिशत, रन अफ द रिभरः ३०–३५ प्रतिशत र अन्य वैकल्पिक श्रोतः ५–१० प्रतिशत बमोजिमको अनुपात कायम रहने व्यवस्था गरिएको छ ।

 

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ ।

 

अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

 

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत ५ वर्ष भित्र प्लान्ट स्थापना गर्नेगरी चिनियाँ कम्पनी राइजन ईनर्जीसँग ३ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सो अनुसार ५ वर्षसम्म सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ ।कम्पनीले प्लान्टबाट वाषिर्करुपमा ३ करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी)आपूर्ति गर्नुपर्ने छ ।

 

प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए,मध्य मर्स्याङदी, ,मर्स्याङदी, चिलिमे जस्ता अर्ध-जलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय)सञ्चालन गर्न मद्दत पुग्ने प्राधिकरणको विश्वास छ ।

एनआइसी एशियामा अनलाइनमार्फत छोटो समयमै खाता खोल्न सकिने Read Previous

एनआइसी एशियामा अनलाइनमार्फत छोटो समयमै खाता खोल्न सकिने

अर्थमन्त्री खतिवडाले मलाई एकाएक यसरी बनाए हुनेखाने ! Read Next

अर्थमन्त्री खतिवडाले मलाई एकाएक यसरी बनाए हुनेखाने !