काठमाडौं । चाबहिल क्षेत्रका व्यापारी, व्यवसायीले पसल खोल्न पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेका छन् ।
सरकारले अढाइ महिनाभन्दा बढी समय लकडाउन जारी राखेको तर कुनै ठोस राहत कार्यक्रम पनि नल्याएकाले जीविका चलाउनै समस्या भएको भन्दै उनीहरु सरकार विरुद्ध आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् ।
लामो समयसम्म व्यापार, व्यावसाय ठप्प रहेकाले घरखर्च चलाउन कठिनाइ हुनकासाथै घरभाडा, कर्मचारीको तलब, बैंक तथा वित्तीय संस्थान ऋण तिर्न समेत नसकिने अवस्था पुगेको उनीहरुको भनाइ छ ।
‘सरकारले न आफू राहत दिन्छ, न हामीलाई गरिखान दिन्छ । साढे २ महिनादेखि व्यापार, व्यावसायमा ताला लागेको छ,’ एक व्यापारीले भने, ‘सरकारको यो ढोका थुनेर बिरालो कुट्ने नीतिले हामीजस्ता स्वरोजगार उद्यमीलाई मर्नु न बाँच्नु बनाएको छ । सरकारले राहत दिन सक्दैन भने कम्तीमा हामीलाई गरिखान त दिनुपर्यो नि ।’ आवश्यक सुरक्षा उपाय अपनाइ सरकारले सबैलाई व्यापार व्यवसाय गर्न दिनुपर्ने उनको भनाइ छ ।
अहिलेको विषम् परिस्थितिमा पनि साना तथा मध्यम खालाका व्यापार व्यावसाय गरेर दैनिकी चलाउँदै आएका वर्गको हितमा सरकारले कुनै राहत ल्यान नसकेको उनीहरुको आरोप छन् । अझ सरकाले यस्तो बेलामा कर तिर भनेर उर्दी जारी गर्दै असहिष्णु व्यवहार देखाएको व्यापारीहरुले बताएका छन् ।