काठमाडौं। सरकारले कर तिर्ने मिति थप नगर्ने भन्दै दातालाई ताकेता सुरु गरेको छ। कोभिड १९ को कारण भएको लकडाउनमा सबै किसिमका कर बुझाउने मिति थप गर्दै जेठ २५ गतेसम्म पुर्याउको थियो । लकडाउन बढाएर जेठ ३२ गतेसम्म पुर्याएको भउपनि आन्तरिक राजस्व विभागले मंगलबार सूचना जारी गर्दै कर र कर विवरण बुझाउन भनेको छ।
सूचना अनुसार थप गरिएको जेठ २५ गते भित्रै विवरण र कर बुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना नलाग्ने भनिएको छ ।
विभागले निकालेको सूचनामा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिरदेखि फागुनसम्मको चौमासिक कर विवरण जेठ २५ गतेसम्म बुझाउनु पर्नेछ।

यस्तै अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला पनि जेठ २५ गतेसम्म गरिसक्नु पर्नेछ।
आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत्र महिनाको बुझाउन पर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि २५ गतेसम्म गरिसक्नु पर्ने सूचनामा छ।
विभागले आयकर ऐन, २०५८ बमोजिम २०७६ चैत्र महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिला पनि सोही मितिसम्म गरिसक्न भनेको छ।