भारतीय फूल आयात प्रतिस्थापन गर्न यस्तो छ ‘पोली हाउस’ कार्यक्रम

काठमाडौं । अब अफ सिजनमा पनि फूलहरु फुलाउन मिल्ने भएको छ । कृषि ज्ञान केन्द्र ललितपुरबाट सञ्चालित सयपत्री फूल उत्पादनका लागि पोली हाउस निर्माणमा सहयोग कार्यक्रम आएको हो । पोली हाउस निर्माण गरी जुन सुकै मौसममा पनि फूल फुलाउन सकिने छ ।

 

काठमाडौं उपत्यकामा सयपत्रि फूल खेती सिजनमा मात्र गरिने भएकोले धेरै जसो मागको आपूर्ति भारतीय बजारबाट हुने गरेको पाइन्छ ।

 

काठमाडौं उपत्यकाको हावापानीमा सिजनमा र अफसिजनमा संरक्षित वातावरणमा बाह्रै महीना सयपत्री फूल उत्पादन गर्न सकिने भएकोले पुष्प व्यवसायीलाई यसको खेती गर्न प्रोत्साहित गर्ने गरी यो कार्यक्रम ल्याइएको हो ।

 

उपत्यकाको दैनिक मागलाई सम्बोधन गर्न ८ हजार ७०० वर्ग मिटर (१७ रोपनी ) क्षेत्रफलबाट १५० क्विन्टल थप सयपत्री फूल उत्पादन गरी ४ लाख माला तयार गरी अयात प्रतिस्थापन गर्ने योजना रहेको छ ।

 

कृषि ज्ञान केन्द्र ललितपुरले आर्थिक वर्ष २०७६/७७ मा काठमाडौं उपत्यकाको तीन जिल्लामा सयपत्री फूल उत्पादनका लागि पोली हाउस निर्माणमा सहयोग कार्यक्रम अन्तर्गत ८ हजार ७०० वर्ग मीटरमा पोली हाउस निर्माण गर्नको लागि ६९ लाख ६० हजार रुपैयाँ रकम व्यवस्था भएको थियो ।

 

यस कार्यक्रम संचालनको लागि सूचना प्रकाशित गरी पुष्प व्यवसायीबाट माग संकलन गरेर आएका आवेदनहरु मध्येबाट पुष्प पकेट क्षेत्र छनौट गरी काठमाडौंको दक्षिणकाली नगरपालीका, ललितपुरको गोदावरी नगरपालीका, भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालीका क्षेत्रबाट माग आएको थियो ।

 

सम्भाव्यताको आधारमा ४० वटा प्रस्ताव छनौट गरेर ७५ वर्ग मिटरको ११६ वटा बाँसको प्लाष्टीक घर निर्माण गरी बाह्रै महीना सयपत्री उत्पादन हुने गरी कार्यक्रम सम्पन्नन भएको थियो ।

 

नेपालमा ३८ जिल्लामा ६०० वटाभन्दा बढी नर्सरी स्थापना भएको छ । त्यसबाट करिब १५० हेक्टरमा फूल खेती भइरहेको छ । नेपालमा विभिन्न फूलको उत्पादन प्रतिवर्ष ३ हजार टन हुने अनुमान रहेको छ ।

 

यस मध्ये सयपत्री फूल सिजनमा मात्र उत्पादन हुने र प्रतिदिन उपत्यकामा १७ देखि २० हजार मालाको माग हुने गरेको छ । तिहारको ५ दिनमा १५ लाखको हाराहारीमा सयपत्री फूलको मालाको माग हुने तथ्याङ्कले देखाउछ ।

 

गत आर्थिक वर्ष २०७५/७६ देशैभरी २ अर्ब ४२ करोडको फूलको कारोबार भएको थियो । आर्थिक वर्ष २०७४/७५ को तुलनामा सो १७ करोडले बढी हो ।

अब भरतपुर विमानस्थल प्रदेशस्तरको बनाइने Read Previous

अब भरतपुर विमानस्थल प्रदेशस्तरको बनाइने

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो Read Next

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो