अब भरतपुर विमानस्थल प्रदेशस्तरको बनाइने

काठमाडौं । चितवनको भरतपुर विमानस्थल विस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्र्रस्तुत गरेकोे आगामी वर्षको बजेटमा सो विमानस्थलाई प्रदेशस्तरीय बनाइने उल्लेख छ । विमानस्थलको धावनमार्ग छोटो हुँदा र अतिक्रमण बढेपछि जहाज उडान र अवतरण निकै जोखिम पूर्ण बन्दै गएको जनाइएको छ ।

 

विमानस्थल जोखिमपूर्ण भएपछि भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सरोकारवालाको छलफलसमेत गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले विमानस्थल विस्तार हुन लागेको जानकारी दिए ।

 

महानगरपालिकाले सेनाको गण र सो केन्द्रका लागि वैकल्पिक स्थान दिइसकेको छ । महानगर प्रमुख रेनु दाहालले विमानस्थल बिस्तारको काम अघि बढेको बताए ।

 

महानगरले सेनालाई चार वटा ठाउँ विकल्पका रुपमा दिएको छ । ठाउँको विस्तृत विवरणसमेत मन्त्रालयमा पठाइसकिएको छ । मन्त्री भट्टराईले महानगरमा छलफलपछि विमानस्थल बिस्तार सम्बन्धमा अध्ययन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलको प्रतिवेदनमा छलफल भइसकेको छ ।

 

महानगर प्रमुख दाहालले भने, ‘सरोकारवाला सबै सकारात्मक भएपछि विमानस्थल बिस्तारको काम अघि बढेको छ ।’ विमानस्थल प्रदेशस्तरको बन्ने हुँदा छिमेकी जिल्लावासी पनि लाभान्वित हुने उनले बताए। विमानस्थलबाट १५० किलोमिटर हाराहारीमा काठमाडौँ, पोखरा, भैरहवा र निजगढ विमानस्थल पर्दछ ।

 

विमानस्थल बिस्तारभएपछि श्री एयरलायन्सको ८० सिटे जहाज, बुद्ध र यतीको एटिआर ७२, श्रीकै सि आर जे ५० र ७० सिटे जहाज अवतरण तथा नेपाल एयरलायन्सको ६० सिटे जहाज एमए ६० पनि उडान गर्न सक्नेछ ।

 

६२ बिघामा रहेको विमानस्थल बिस्तार गर्दा ७२ बिघा थप हुनेछ । हालको एक हजार २०० मिटर लामो धावनमार्गमा ४५० मिटर थप गर्न सकिने प्राधिकरणका प्रमुख पवनकुमार गौतमले जानकारी दिए ।

 

विस्तारसँगै रात्रिकालीन उडान, जहाज राख्ने र तेल भर्ने व्यवस्था यही हुनेछ । भौतिक संरचना निर्माण गरेर आकर्षक विमानस्थल बन्ने उनको भनाइ छ । टर्मिनल भवन छुट्टै बन्ने छ । पर्यटनमन्त्री भट्टराईले यहीँबाट माउन्टेनसहितका विभिन्न जिल्लामा उडान गर्न सक्नेगरी विमानस्थल बिस्तार गर्ने जनाउँदै आएका छन् ।

 

हाल यहाँबाट दिनको समयमा मात्र काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । धावनमार्ग विस्तार गर्दै गर्दा अतिक्रमण गरी मापदण्ड मिचेर बनाइएका संचना भत्काएर व्यवस्थित गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ ।

 

हाल प्रदेशस्तरका नेपालगञ्ज, विराटनगर, पोखरा र भौरहवा विमानस्थल छन् । त्यही स्तरको विमानस्थल भरतपुरमा बिस्तार गर्न लागिएको हो । यस विमानस्थलले वाग्मती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्ला, नवलपरासी, तनहुँलगायतका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । साना जहाज मात्र उड्ने भएकाले भाडा बढी तिर्न यात्रु बाध्य छन् । बिस्तार भएसँगै जहाजको भाडादर कम हुने अपेक्षा गरिएको छ ।

कोरोना संक्रमित ह्वात्तै बढेपछि ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी Read Previous

कोरोना संक्रमित ह्वात्तै बढेपछि ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

भारतीय फूल आयात प्रतिस्थापन गर्न यस्तो छ ‘पोली हाउस’ कार्यक्रम Read Next

भारतीय फूल आयात प्रतिस्थापन गर्न यस्तो छ ‘पोली हाउस’ कार्यक्रम