‘मास्टर स्ट्रोक’ हान्न चुकेको खतिवडाको तेस्रो बजेट

भाइरसको महामारीको बीचमा सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट ल्यायो, गत जेठ १५ गते । अघिल्ला लकडाउनहरुमा सञ्चार माध्यम, जनता र सरकार सबै २ वटा अध्यादेश र अपहरण काण्डमा अल्मलिएका थिए । त्यसपछिको लकडाउनमा लिपुलेक र लिम्पियाधुराले बजार तताएको थियो । त्यसपछि केही दिनको ध्यान भने बजेटले खिचेको छ ।

 

बजेट आफैंमा धेरै सुख्खा विषय हो । यसमा धेरै रुचीकर कुरा हुँदैनन् । अझ नेपालको सन्दर्भमा त बजेट कार्यान्वयन पनि धेरै हदसम्म हुँदैन । र, बजेटको कार्यान्वयनका लागि संरचनागत सुधारका सार्थक प्रयासहरु भएका पनि छैनन् । त्यसैले नेपालका धेरै बजेटहरु विगतकै उदेक लाग्दा निरन्तरता जस्ता मात्र लाग्छन् । एक्का दुक्का बाहेक मुलुकको आर्थिक संरचना परिर्वतन गर्ने वा नयाँ बाटो देखाउने बजेटहरु निकै कम बनेका छन् नेपालमा ।

 

स्थिर पौडी पोखरीमा भन्दा तीव्र गतिमा बगिरहेको खोलामा पौडेर दूरी पार गर्न सहज हुन्छ नि ! ठ्याक्कै त्यस्तै । तर, त्यस्तो नीतिगत छलाङ लगाउने किसिमको योजना तथा कार्यक्रमहरु बजेट मार्फत आएनन् । विशिष्टि परिस्थितिलाई सम्बोधन गर्ने सृजनशीलता र तदारुकता यो बजेटले देखाएको पाइएन ।

 

महान् वैैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका छन्, ‘एउटै खाले प्रयास पटक पटक दोहोर्याउनु र फरक फरक नतिजाको अपेक्षा गर्नु नै पागलपनको अर्को नाम हो’ । यो भनाई नेपालका बजेट निर्माण र कार्यान्वयनको सन्दर्भमा ठ्याक्कै मेल खान्छ ।

 

बजेटलाई हेर्ने र बुझ्ने सन्दर्भमा पनि एकखाले स्थायी ढाँचा विद्यमान छ । र, त्यसैका आधारमा सहरका चल्तिका ‘अर्थविद्’हरुले विगत लामो समयदेखि बजेटको विश्लेषण गर्दै आएका छन् । बजेट भनेको अर्थराजनीतिक दस्तावेज हो । त्यसैले यसलाई हेर्ने र बुझ्ने सन्दर्भमा आर्थिक, राजनीतिक र सामाजिक आयामहरुको फराकिलो दायरा त्यस्ता पुरातन संरचनामा अटाएका छैनन्, लामो राजनीतिक र सामाजिक आन्दोलन पश्चात् समेत ।

 

महिला सशक्तिकरण, साधारण मानिसहरुका आत्मनिर्भरता र आर्थिक अधिकारहरु, तल्लो तह र तप्काका मानिसहरुको उत्थानलगायत कोणहरुबाट बजेटको सान्दर्भिकता पुष्टि गर्ने वा असान्दर्भिक मान्ने परिपाटी शुरु हुन सकेको छैन अझै ।

 

यसपालिको बजेट

 

यसपालीको बजेट चाहिँ अत्यन्तै प्रतिकूल अवस्थामा आएको हुनाले अघिल्ला बजेटहरु भन्दा केही फरक होला कि भन्ने लागेको थियो । उथलपुथलको समयमा बनाइने नीतिहरु नीति निर्मार्ताहरुको  सचेत प्रयास बिना पनि यथास्थिति भन्दा फरक आउनसक्ने संभावना हुन्छ ।

 

स्थिर पौडी पोखरीमा भन्दा तीव्र गतिमा बगिरहेको खोलामा पौडेर दूरी पार गर्न सहज हुन्छ नि ! ठ्याक्कै त्यस्तै ।

 

तर, त्यस्तो नीतिगत छलाङ लगाउने किसिमको योजना तथा कार्यक्रमहरु बजेट मार्फत आएनन् । विशिष्टि परिस्थितिलाई सम्बोधन गर्ने सृजनशीलता र तदारुकता यो बजेटले देखाएको पाइएन ।

 

कठिन परिस्थिति भएका कारण कुनै विशेष कार्यक्रम ल्याउन संभव नभएका कारण साधारण र सन्तुलित आय व्ययको विवरण मात्र ल्याइएको भन्ने तर्कहरु पनि गरिएका छन् ।

 

यस्तो तर्कमा बजेटको प्रारम्भिक विश्लेषण गरेका स्वर्णीम वाग्ले, रामेश्वर खनाल, सुरेन्द्र पाण्डेलगायत मानिसहरु पनि सहमत देखिन्छन् । उनीहरुले पनि यो बजेटलाई यथार्थपरक, वस्तुनिष्ठ, मध्यमार्गी इत्यादी भनेका छन् । अप्ठ्यारो समयमा सरकारलाई सर्मथन गरेका हुन सक्छन् वा ‘सकारात्मक सोच’बाट अभिप्रेरित भएका हुन सक्छन् । पछिल्लो समय नेपालमा ‘सकारात्मक सोच’को ‘त्योहार’ आएको छ । ‘राम्रा’ मानिसहरु समाजमा सार्वजनिक धारणा लिएर अघि आइरहेका छन् । ‘मोटिभेशनल स्पिकर’हरु पनि बढिरहेका छन् । आलोचनात्मक दृष्टिकोण वा सोचलाई ‘नकारात्मक’ सोच मान्न थालिएको छ ।

 

समग्रमा भन्दा अहिलेको चरम संकटबाट अर्थतन्त्रलाई जोगाउनका लागि अर्थमन्त्रीलाई नीतिगत छलाङ हान्नका लागि धेरै अवसरहरु थिए । एकदुई वटा मात्र यस्ता अवसरहरु छोप्न सकेका भए संकटबाट बाहिर निस्कन धेरै सजिलो हुने थियो । तर, उनले जोखिम पटक्कै लिएनन् ।

 

तर, अप्ठ्यारो र अनिश्चित अवस्थामा धेरै नीतिगत निर्णयहरु गर्न नसकेपनि एकदुई वटा ‘मास्टर स्ट्रोक’ हान्न पक्कै पनि सकिन्थ्यो । यस्तो मास्टर स्ट्रोकहरुले संकटसँग जुध्न र अन्ततः त्यसलाई पराजित गर्न धेरै सहयोग पुर्याउँछ ।

 

उदाहरणको लागि क्रिकेट खेललाई लिन सकिन्छ । क्रिकेट टिममा कम्तिमा एकजना ‘पिन्च हिटर’ राखिएको हुन्छ । त्यस्ता पिन्च हिटरले अत्यन्तै तीव्र गतिमा रन बनाउँछन् । त्यसैले सामान्यत जुन दिन उनीहरु चल्छन् त्यो दिन टिमले जित्ने करिब निश्चित प्रायः हुन्छ । तर, दूर्भाग्यवश उनीहरु कुनै दिन चलेनन् भने उनीहरु पछि आउने खेलाडीहरुले लामो पारी खेलेर खेललाई सम्हालेर अघि बढाउँछन् ।

 

संकटको यो अवस्थामा त्यस्तै एकदुई पिन्च हिटिङ कार्यक्रम ल्याएको भए शिथिल आर्थिक–सामाजिक अवस्थालाई उकास्नका लागि धेरै सहयोग हुन सक्थ्यो । यदि त्यस्ता कार्यक्रम चलेनन् भने बाँकी बजेटका अन्य पाटाहरु कम जोखिमपूर्ण छँदै थिए । तर, अर्थमन्त्रीले यो बजेटका कुनै पनि सन्दर्भमा सामान्य जोखिम पनि लिएनन् । अत्यन्तै सामान्य अवस्थामा समेत ‘अलिनो’ जस्तो लाग्ने बजेट ल्याए उनले ।

 

स्वास्थ्यमा उनले चालू आर्थिक वर्षको भन्दा २१ अर्ब रुपैयाँ बजेट बढाए । यो सकारात्मक नै छ । कोरोनाको उपचार र जाँचको लागि ६ अर्ब रुपैयाँ छुट्याएका छन् । यो स्वभाविक छ । र, स्थानीय तहमा २ सय भन्दा बढी अस्पताल बनाउने योजना पनि ल्याएका छन् । यो पनि राम्रै छ । शिक्षा र स्वास्थमा गरिएको लगानीले नै दीर्घकालीन रुपमा आर्थिक विकासको गोरेटो कोर्ने हो ।

 

तर, यस्तो प्रतिकूल अवस्थाले दिएको अवसरमा पनि उनले स्वास्थ्य क्षेत्रको संरचनागत आधार फेर्ने निर्णयहरु गर्न सकेनन् । स्वास्थ्य क्षेत्रलाई विस्तारै निजी क्षेत्रबाट तानेर सरकारले जिम्मा लिने प्रभावकारी योजनाहरु अगाडि बनाउन सकेनन् ।

 

संविधानले निर्दिष्ट गरेको समाजवादको बाटो हिँड्ने दरिलो आधार पनि यो हुनसक्थ्यो । शिक्षा र स्वास्थ्य जस्तो आधारभूत विषय निजी क्षेत्रको जिम्मा लगाएर समाजवादतर्फको यात्रा तय हुँदैन । त्यसैले स्वास्थको क्षेत्रमा केही मास्टर स्ट्रोक लगाउन उनी चुके ।

 

महामारीको यो समयमा खाद्य सुरक्षा र रोजगारी दुवैको दृष्टिकोणले कृषि क्षेत्र निकै चर्चामा थियो बजेट अघि । यो क्षेत्रले नेपालले आगामी दिनमा भोग्न सक्ने संभावित भोकमरी र बेरोजगारीको समस्या सँग जुध्न यो क्षेत्रलाई भरपर्दो हतियारको रुपमा लिइएको थियो ।

 

तर, यो क्षेत्रमा चालू आर्थिक वर्षको भन्दा जम्मा ६ अर्ब रुपैयाँले बजेट बढाइयो । यसले पक्कै पनि अहिलेको जटिल समयलाई सम्बोधन गर्न सक्दैन । यो प्रतिकूल अवस्थामा किसानहरुको उत्पादन बढाउन, स्थानिय निकायहरुसँगको सहकार्यले उनीहलाई थप अधिकार सम्पन्न बनाउन र विभिन्न तहमा रहेका बिचौलियाहरुको सञ्जाल तोड्न बजेटमार्फत केही मास्टर स्ट्रोक नीति ल्याउन नसकिने थिएन । तर, यो क्षेत्रमा प्रभावकारी छाप छोड्न यो बजेट चुक्यो । स्वयं कृषिमन्त्री यो बजेटसँग सन्तुष्ट छैनन् भन्ने कुरा बाहिर आएकै छ ।

 

सरकारले साना तथा मझौला व्यवसायलाई राहत दिनका लागि कोष बनाएको छ । यो सकारात्मक नै छ तर, कार्यान्वयनको पाटो महत्वपूर्ण छ । यसैगरी पर्यटन क्षेत्रको लागि पनि कोष बनाइएको छ । यसले पनि उनीहरुलाई थोरै राहत पक्कै पनि देला । उद्योगी र व्यवसायीहरुका धेरै माग सम्बोधन भएनन् । उनीहरुका माग के थिए भन्ने कुरा सायद अर्थमन्त्रीलाई थाहा नै नभएको पनि हुनसक्छ । सायद उनले बजेट निर्माणको समयमा उनीहरुसँग भेटघाट पनि गरेनन् । बिजुलीमा केही छुट दिइएको छ । यसले केही राहत देला तर विद्युत् प्राधिकरणकै ढाड भाँचिने होकी भन्ने शंका छँदै छ । स्रोत कम भएको प्रतिकूल अवस्थामा यस्ता कुरा स्वभाविक नै हुन् ।

 

आगामी वर्षको अनुमानित बजेटमा स्रोतको ठूलो अभाव देखिएको छ । पौने ९ खर्ब राजश्व उठाउने लक्ष्य राखिएको बजेटमा चालू खर्च मात्र साढे ९ खर्ब भन्दा माथि छ । त्यसकारण यो अभावको पूर्ति गर्नका लागि चालू खर्च घटाउने ठूलो अवसर अर्थमन्त्रीलाई थियो ।

 

महामारी पनि निर्माण हुने नयाँ ‘नर्मल’ विश्वमा आफ्नो सान्दर्भिकता पुष्टि गर्न र तरल अवस्थामा अगाडि बढ्नका लागि नेपालको प्रतिस्पर्धात्मक क्षमता हुने केही व्यवसायीक क्षेत्रको खोजी बजेटमा हुन्छ कि भन्ने पनि अपेक्षा थियो । तर, नयाँ व्यवसायीक क्षितिज उघार्ने सन्दर्भमा पनि अर्थमन्त्रीले मास्टर स्ट्रोक हान्न सकेनन् ।

 

डिजीटल क्षेत्रमा नयाँ व्यवसायीक संभावना छ भन्ने कुरा धेरै उठेको थियो । विश्वमा पनि पछिल्लो एकडेढ दशकमा यो क्षेत्रले नै नेतृत्व गरिरहेको छ । कुनै समय विश्वका ठूला कम्पनीहरु बैंक र पेट्रोलियम सम्बन्धी कम्पनीहरु थिए । तर, अहिले फेसबुक, गुगल, एप्पल जस्ता कम्पनीहरुले विश्वको व्यावसायिक नेतृत्व लिइरहेका छन् । विकासशील देशहरुमा पनि यो क्षेत्रले ठूलो भूमिका खेलिरहेको छ । भारत र बंगलादेश यसका उदाहरण हुन् ।

 

अहिलेको भर्चुअल दुनियाँका कारण नेपालमा पनि डिजीटल क्षेत्रको बारेमा चासो बढेको छ । त्यसैले यो क्षेत्र उकास्नका लागि अलि देखिने र सुनिने खाले कार्यक्रम अर्थमन्त्रीले ल्याउन सक्थे । चारतिर छरिएका केही कार्यक्रमहरु परे पनि यो क्षेत्रमा लाग्नका लागि उत्प्रेरणा जगाउने खाले कुनै कार्यक्रम बजेटमा आउनन् । एउटा मास्टर स्ट्रोक हान्ने अवसर यहाँ पनि गुम्यो ।

 

आगामी वर्षको अनुमानित बजेटमा स्रोतको ठूलो अभाव देखिएको छ । पौने ९ खर्ब राजश्व उठाउने लक्ष्य राखिएको बजेटमा चालू खर्च मात्र साढे ९ खर्ब भन्दा माथि छ । त्यसकारण यो अभावको पूर्ति गर्नका लागि चालू खर्च घटाउने ठूलो अवसर अर्थमन्त्रीलाई थियो ।

 

सरकारले नै गठन गरेको खर्च पुनरावलोकन आयोगले चालू खर्चमा सामान्य ढंगले पनि ३५ प्रतिशत अर्थात झण्डै ३.५ खर्ब रुपैयाँ घटाउन सकिने प्रतिवेदन दिएको थियो । अझ कसिलो गरे झण्डै ५ खर्ब चालू खर्च घटाउन सकिने उक्त आयोगले सुझाव दिएको थियो । तर, यसको कार्यान्वनमा जाने आँट अर्थमन्त्रीले गर्न सकेनन् । सामान्य ढंगले खाजा र बैठक खर्च मात्र घटाउने बताए उनले । ठूलो खर्च घटाउनका लागि पाएको एतिहासिक अवसरमा मास्टर स्ट्रोक हान्न उनी चुके ।

 

सामान्य जनाताको सशक्तिकरण गर्न, उनीहरुलाई अधिकार सम्पन्न बनाउन र आथिक गतिविधिमा उनीहरुलाई सहभागी गराउने लोकप्रिय कार्यक्रमको खाका पनि यो बजेटले कोर्न सकेन । सामाजिक र राजनीतिक कोणबाट हेर्दा त बजेट झनै खल्लो छ । यसमा सामान्य अंकगणित बाहेक धेरै कुरा अटाएका छैनन् ।

 

समग्रमा भन्दा अहिलेको चरम संकटबाट अर्थतन्त्रलाई जोगाउनका लागि अर्थमन्त्रीलाई नितीगत छलाङ हान्नका लागि धेरै अवसरहरु थिए । एकदुई वटा मात्र यस्ता अवसरहरु छोप्न सकेका भए संकटबाट बाहिर निस्कन धेरै सजिलो हुने थियो । तर, उनले जोखिम पटक्कै लिएनन् ।

 

संकटको समयमा ‘ओभर कसिसस’ भएका उनले आफ्नो टिममा सबै खेलाडीहरु राहुल द्रविड टाइपमा मात्र राखे । विरेन्द्र सहवाग जस्ता एकजनालाई पनि खेलाएनन् । भरपर्दा भए पनि राहुल द्रविड त्यस्ता खेलाडी हुन् जसले कहिलेकाहीँ पहिलो रन बनाउनका लागि समेत ५० बल खाइदिन्छन् ।

अमेरिकामा हिंसात्मक प्रदर्शनले उग्र रुप लिँदै, ४० शहरमा कर्फ्यू Read Previous

अमेरिकामा हिंसात्मक प्रदर्शनले उग्र रुप लिँदै, ४० शहरमा कर्फ्यू

कोरोना संक्रमित ह्वात्तै बढेपछि ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी Read Next

कोरोना संक्रमित ह्वात्तै बढेपछि ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी